धनगढी उपमहानगरको २ अर्ब ६४ करोडभन्दा बढीको बजेट सार्वजनिक

सुदूर प्रेस संवाददाता

धनगढी— धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

आइतबार बसेको नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी राना ले बजेट प्रस्तुत गर्दै चालुतर्फ १ अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २३ करोड ७६ लाख ६८३ रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन्।

उपमहानगरका अनुसार बजेटका प्रमुख स्रोतमा आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ६० करोड ४५ लाख ३६ हजार २०६ रुपैयाँ, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ६ करोड ७९ लाख ७ हजार रुपैयाँ, प्रदेश सरकारबाट १४ करोड २२ लाख ७ हजार रुपैयाँ तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार २४८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

आगामी वर्षका लागि वडा स्वास्थ्य क्लिनिक सुदृढीकरण, ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत सीपमूलक शिक्षा, नगर गौरवका आयोजना, दीगो तथा वातावरणमैत्री पूर्वाधार विकास, सिप तथा रोजगार मेला, सडक बत्ती व्यवस्थापन तथा मध्यकालीन बजार र रात्रीकालीन पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ।

यस्तै, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, आमा बचाउ कार्यक्रम, ग्रासरुट फुटबल तथा क्रिकेट विकास कार्यक्रम र विद्यालयका शुक्रबारीय सीप विकास कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

उपमहानगरपालिकाले ‘हाम्रो धनगढी, सफा धनगढी’, ‘उज्यालो धनगढी’, ‘जहाँ खाली, त्यहाँ हरियाली’ लगायत अभियानलाई पनि आगामी वर्ष निरन्तर सञ्चालन गर्ने जनाएको छ।

नगर बस सेवा विस्तारअन्तर्गत हाल सञ्चालनमा रहेको फूलवारी–धनगढी–अत्तरिया रुटसँगै धनगढी–कनरी–रामपुर–चौमाला, धनगढी–पथरी–बनबेहडा, धनगढी–बेली–जुगेडा–घुईयाँघाट–बंगरा तथा धनगढी–घोडसुवा–स्याउले रुटमा पनि सेवा विस्तार गरिने भएको छ।

उपप्रमुख रानाले बजेट प्रस्तुत गर्नुअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समेत नगरसभामा सार्वजनिक गरेकी थिइन्।

प्रकाशित:
२०८३ असार , ०८:१०
SPA
KN
Priya Gahana Pasal