पानी परेसँगै गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– मनसुन सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ । गएराति र आज बिहान सबै प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहितका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । पानी परेपछि गर्मीबाट राहत मिलेको छ । अबका केही दिन पानी धेरै पर्ने र गर्मी कम हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसोदेखि पर्सिसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भेगका धेरै ठाउँमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म पानी पर्ने सम्भावना छ ।

यस्तै  तराई भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी  र गणडकी प्रदेशका पहाडी र तराई भेगका केही ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।

भोलि र पर्सि पनि केही ठाउँमा मुसलधारे वर्षासँगै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक, दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ ।

प्रकाशित:
२०८३ असार १५, ०८:४६