लामो खडेरीपछि वर्षा, पश्चिम तराईका किसानलाई राहत

सुदूर प्रेस संवाददाता

धनगढी — लामो समयदेखि खडेरीका कारण समस्यामा परेका पश्चिम तराईका किसानले गएरातिदेखि सुरु भएको वर्षापछि राहत महसुस गरेका छन्।

मध्य असारसम्म पनि पर्याप्त वर्षा नहुँदा कैलाली, कञ्चनपुरलगायत पश्चिम तराईका जिल्लामा धान रोपाइ प्रभावित भएको थियो। पानीको अभावका कारण धेरै किसानले रोपाइ नै गर्न सकेका थिएनन् भने केही स्थानमा रोपिएको धानसमेत सुक्न थालेको थियो। खेतहरूमा चिरा परेपछि किसान थप चिन्तित बनेका थिए।

गएरातिदेखि निरन्तर वर्षा हुन थालेपछि रोपाइको कामले गति लिने अपेक्षा गरिएको छ। लामो समयदेखि पानीको प्रतीक्षामा रहेका किसान वर्षा भएपछि उत्साहित भएका छन्। उनीहरूले अब धान रोपाइ सहज हुने विश्वास व्यक्त गरेका छन्।

पछिल्ला केही सातादेखि पश्चिम तराईमा अत्यधिक गर्मीसमेत बढेको थियो। वर्षासँगै तापक्रममा कमी आउँदा सर्वसाधारणले पनि राहत महसुस गरेका छन्।

मौसमविद्हरूले आगामी केही दिन पश्चिम तराईका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले किसानलाई मौसमको अनुकूलताअनुसार धान रोपाइको काम अघि बढाउन सुझाव दिएका छन्।

प्रकाशित:
२०८३ असार १६, ०८:२५