डोटीमा ल्याइयो पिसिआर मेशिन

डोटीमा ल्याइयो पिसिआर मेशिन
सुदूर प्रेस संवाददाता

डोटी: कोभिड–१९ को स्वाब परीक्षण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा खरिद गरिएको पिसिआर मेशिन जिल्ला अस्पतालमा बुधबार ल्याइएको छ। दुईवटा ट्रकमा मेशिन र स्वाब परीक्षण गर्ने सामग्री ल्याइएको जिल्ला अस्पतालले जानकारी दिएको छ। 

उक्त पिसिआर मेशिनले एक पटकमा ९६ नमूना परीक्षण गर्ने र दिनमा ७०० जति नमूना परीक्षण गर्ने क्षमता रहेको कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जनाकारी दिए। सुदूरपश्चिम प्रदेश सरकारले गत चैतमै कञ्चनपुर, बैतडी र डोटीमा पिसिआर परीक्षण शुरु गर्ने र त्यसका लागि पिसिआर मेशिन खरिद गर्ने निर्णय गरेअनुसार उक्त मेशिन खरिद गरी जिल्ला अस्पताल आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए।

जिल्लामा अहिले कूल ५८३ जना कोरोना सङ्क्रमित छन्। पिसिआर मेशिन राख्ने प्रयोगशाला पनि निर्माण कार्य सम्पन्न भएकाले यही साउन २० गतेदेखि परीक्षण कार्य शुरु गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कूल ४० लाखको लागानीमा उक्त मेशिन डोटी आइपुगेको उनले जानकारी दिए। 

प्रकाशित:
२०७७ साउन १४, ०४:०७
SPA
KN
Priya Gahana Pasal