डोटीमा झारफुक गर्ने बहानामा महिलामाथि बलात्कार

एक युवक पक्राउ
arrest
सुदूर प्रेस संवाददाता

डोटी — झारफुक गर्ने बहानामा महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २० वर्षीया महिलाले बुधबार दिएको उजुरीका आधारमा डोटीको जोरायल गाउँपालिका–३ का ३१ वर्षीय टेकबहादुर ओली पक्राउ परेका हुन् । 
इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार महिलाले उजुरीमा भदौ २ गते घटना भएको उल्लेख गरेकी छन् । उनी श्रीमानसँगै उजुरी दिन आएकी थिइन् ।

सन्तानको आसमा झारफुक गर्न ओलीकहाँ गएका बेला श्रीमानलाई जडीबुटी ल्याउन बाहिर पठाएको र त्यही बेला आफूलाई बलात्कार गरेको महिलाले बताएको प्रहरी नायब निरीक्षक थापाले जानकारी दिए ।

ओलीले भने उनीहरूकै अनुरोधमा झारफुक गरे पनि बलात्कार नगरेको बयान दिएका छन् । झारफुकका लागि हरेक मंगलबार ओलीकहाँ जाने गरेकोमा उक्त घटनापछि जान छाडेको महिलाले बताएकी छन् । उनले उजुरीमा उल्लेख गरेअनुसार भदौ २३ गते ओलीले उनलाई फोन गरे । उनले फोन ‘अफ’ गरेपछि फेरि श्रीमान्लाई फोन गरी अन्तिमपटक झारफुकका लागि आउन आग्रह गरे । श्रीमान्ले महिलालाई त्यसैअनुसार ओलीकहाँ जान भनेपछि उनले घटना बताइदिइन् । त्यसपछि दुवै जना प्रहरीमा गएका हुन् ।

इलाका प्रहरी कार्यालय जोरायलले भने दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय, डोटी पठाएको छ ।

प्रकाशित:
2020/09/10, 4:32