कोरोना महामारीकै बिच बैतडीमा विद्यालय सञ्चालनको तयारी

बैतडी
सुदूर प्रेस संवाददाता

 

बैतडी,२६ भदौ–बैतडीको पञ्चेश्वर गाउँपालिकाले असोज १ देखि विद्यालयमा पठनपाठन सुरु गर्ने तयारी गरेको हो।  पाँच महिनादेखि विद्यालय बन्द रहँदा विद्यार्थी समस्यामा परेको हुनाले सञ्चालनको तयारी थालिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। विद्यालय बन्द रहेको बेला पनि शिक्षकहरुले तलब लिएको गुनासो आउन थालेपछि विद्यालय पुनः सञ्चालनको तयारी गरेको उनको भनाइ छ। उनले भने, ‘कोरोना कहरमा पनि दैनिक ज्याला मजदुरी गर्ने वर्गहरुले काममै लागिरहेको र शिक्षकले बसीबसी तलब खाएको गुनासो आएकाले सञ्चालनको तयारी गरेका छौं।’ पञ्चेश्वर गाउँपालिका अहिले कोरोना संक्रमित शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याउँदा कुनै समस्या नहुने अध्यक्ष चन्दको भनाइ छ। उनले भने, ‘गाउँपालिकामा रहेका विद्यालयलाई निसंक्रमण गरेर तथा सामाजिक दूरी कायम, मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर विद्यालयमा पठनपाठन कार्य थालिनेछ।’  गाउँपालिकामा रहेका ३५ विद्यालयमा पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्। बैतडीमा ३७५ जनामा कोरोना पुष्टि हुँदा पञ्चेश्वर गाउँपालिकामा सबैभन्दा बढी ६० जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएका सबै घर फर्किसकेका र हाल गाउँपालिकामा कोही पनि सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
 

प्रकाशित:
2020/09/11, 8:40