राष्ट्रिय क्रिकेटर ललित भण्डारी दुर्घटनामा घाइते, थप उपचारका लागि नेपालगन्ज लगियो 

काठमाण्डौं लैजाने तयारी 
Lalit Bhandari


धनगढी – राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारी कञ्चनपुरमा सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका अनुसार ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाइकल ट्रकसँग जुध्दा दुर्घटना भएको थियो ।

ललितलाई गम्भीर चोट लागेकाले प्राथमिक उपचारपछि धनगढी रिफर गरिएको थियो । धनगढीको निसर्ग हस्पिटलमा पनि उपचारपछि रेफर गरिएको छ । उनलाई थप उपचारका लागि नेपालगंज रेफर गरिएको उपचारमा संग्लन चिकित्सकले बताएका छन् । त्यहाँ पनि उपचार सम्भाव नभधए उनलाई काठमाण्डौं लगिने छ । 

भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन् । २०१७ डिसेम्बरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएईसंग खेल्दै डेब्यु गरेका भण्डारी त्यसपछि नियमित रुपमा टिममा रहेका छन् । नेपालले नेदरल्याण्डसंग अगस्टमा खेलेको एकदिवसीय सिरिज अन्तर्गत टिममा रहेका भण्डारीले नेपाल १ रनले विजयी हुँदै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हासिल गर्ने क्रममा २ विकेट लिएका थिए ।

नेपाल पुलिस क्लबको लागि नियमित घरेलु क्रिकेट खेल्ने भण्डारीले सन् २०१३ को यु–१९ युथ एसिया कपमा नेपाली अन्डर–१९ टिमको लागि पहिलो पटक खेल्ने मौका पाएका थिए । डेब्युमा पाकिस्तानसंग २ विकेट लिएका उनले त्यस प्रतियोगितामा कुल ३ खेलमा ५ विकेट लिंदै प्रभावित बनाएका थिए ।

ललित पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका छन् । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका उनी फ्रेन्चाइज लिगमा नियमित खेलिरहेका खेलाडी हुन् । उनको घर कञ्चनपुर हो । 

प्रकाशित:
2020/09/14, 7:52