सुदुरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

corona
सुदूर प्रेस संवाददाता

धनगढी–सुदुरपश्चिममा आज थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । धनगढीको सेती प्रादेशिक अस्पताल र डोटीमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो । सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलाली र कञ्चनपुरका थप १४ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढीका पाँच जनामा संक्रमण पुष्टि भएको छ।

वडा नम्वर ७ का दुई जना, वडा नम्वर ३, ५ र १४ का एक–एक जनामा संक्रमण पुष्टि भएको हो।

सूचना अधिकारी श्रेष्ठले घोडाघोडी नगरपालिका वडा नम्वर १० का चार जना, गोदावरी नगरपालिकाका दुई जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दुई जना र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

सेती प्रादेशिक अस्पतालमा ११ पुरुष र पाँच महिला गरी १६ जना कोरोना संक्रमितको उपचार भईरहेको छ।  उता डोटीमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ४९ जनाको परीक्षण गर्दा डोटीका ८ र अछामका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।  

उनका अनुसार आज थपिएका संक्रमित डोटीको केआइसिंह गाउँपालिकाका ६ पुरुष र दुई महिला गरी ८ तथा अछामको चौरपाटी गाउँपालिकाका तीन पुरुष र तुर्माखाद गाउँपालिकाका एक पुरुष रहेका छन्। 
 

प्रकाशित:
2020/09/14, 4:15