दिनेश सञ्चार गृहमा आक्रमण गरेको आरोपमा एक जना पक्राउ 

kutpit
सुदूर प्रेस संवाददाता

धनगढी–दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गरेको आरोपमा एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । एफएमले दिएको किटानी जाहेरीका आधारमा धनगढी उप–महानगरपालिका वडा नम्वर–५ बस्ने सरोज थापा लाइ पक्राउ गरीएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताए ।  आक्रमणमा संलग्न अन्य ब्यक्तिको खोजीका लागी पनि प्रहरी परिचालन गरीएकोले छिट्टै पक्राउ पर्ने प्रमुख जिल्ला अधिकारी वोहराले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक विष्टले पक्राउ परेका थापाको संलग्नता बारे अनुसन्धान भइरहेको बताए । प्रहरी कार्यालयले दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो । सोही समाचार प्रकाशनको बिषयलाइ लिएर एउटा हुलले दिनेश सञ्चार गृहमा प्रबेश गरी त्यहाँ कार्यरत पत्रकार हरुलाइ कुटपिट गरेको थियो । कुटपिटमा संलग्न रहेको अभियोगमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता भएको छ ।  कैलालीका पत्रकारहरुले दोषिलाइ पक्राउ गरी कार्बाही गर्न माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन । 
धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।  तर मृतकका आफन्तले भने उनले आत्महत्या नभई उनको हत्या भएको बताउँदै आएका छन् । समाचारमा आत्महत्या किन लेखेको भन्दै दिनेश सञ्चार गृहको समाचार कक्षमा पुगेर व्यवस्थापक अमिता कुँवर, सह–सम्पादक जनक विष्ट र प्राविधिक कल्पनासिंहमाथि हातपात र कुटपिट गरिएको थियो । सो घटना बारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिब बस्नेतको नेतृत्वमा चार सदस्यीय छानबिन समिती गठन गरीएको छ । राष्ट्रिय मानब अधिकार आयोगले पनि घटनाबारे छानबिन गरीरहेको छ । 
 

प्रकाशित:
2020/09/15, 1:54