सुदूरपश्चिममा थपिए ५४ कोरोना संक्रमित

संक्रमितको संख्या ६ हजार ५९० पुग्यो
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा मंगलबार ५४ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका ५४ जनामा संक्रमण देखिएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। गोदावरी नगरपालिकाका दुई महिला र सात पुरुष गरी ९ जना र धनगढी उपमहानगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको छ। धनगढी वडा नम्बर ५ का दुई महिला, वडा नम्बर ६ का एक महिला र वडा नम्बर ८ का एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए। चार जना थपिएसँगै धनगढीमा संक्रमितको संख्या चार सय ४० पुगेको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ। यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६८ जनाको कोरोना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ। बैतडीका ८, दार्चुलाका तीन र बझाङका एक जनामा संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुषालले जानकारी दिए। बैतडीको दशरथचन्द नगरपालिका–७ का ६ जना, डिलासैनी गाउँपालिकाका दुई जना, दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना, महाकाली नगरपालिका–४ का एकजना र बझाङको दुर्गाथली गाउँपालिका–२ का एक जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी डोटीका थप २९ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको परीक्षण गर्दा २६ सुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए। उनका अनुसार डोटीको सुल्लेखका १९ जना, दिपायल सिलगढी नगरपालिकाका ९ जना र आर्दश गाउँपालिकाका एक जनामा कोरोना देखिएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५९० पुगेको छ। संक्रमण पुष्टि भएका पाँच हजार सात सयले कोरोना जितेका छन्। संक्रमणबाट यहाँका १४ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित:
2020/09/16, 6:56