दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना पक्राउ

फरार ब्यक्तिहरुको खोजि तिब्र
akraman
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना लाइ प्रहरीले पक्राउ गरेको छ । आक्रमणमा संलग्न चक्र रावललाई गएराती करिब १ बजे कैलालीको हसुलियाबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। गत शुक्रवार दिनेश सञ्चार गृहमा प्रवेश गरी १५–२० जनाको समूहले साङ्घातिक आक्रमण गरेको थियो। सह–सम्पादक जनक विष्टमाथि कुटपिट भएको थियो भने प्रबन्धक अमिता कुँवर लगायतका कर्मचारीमाथि हातपात भएको थियो। किटानी जाहेरीको आधारमा यसअघि मङ्गलवार धनगढीका सरोज थापालाई पक्राउ गरिएको थियो।  यस अघि हिजो धनगढी उप–महानगरपालिका वडा नम्वर–५ बस्ने सरोज थापा लाइ प्रहरीले पक्राउ गरेको छ । आक्रमणमा संलग्न फरार रहेका अन्य ब्यक्तिहरुको खोजि अभियानलाई तिब्र बनाएको प्रहरी नायव उपरीक्षक विष्टले बताए। कुटपिटमा संलग्न रहेको अभियोगमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता भएको छ ।  कैलालीका पत्रकारहरुले दोषिलाइ पक्राउ गरी कार्बाही गर्न माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन । 

किन भयो आक्रमण ?

प्रहरी कार्यालयले दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो । सोही समाचार प्रकाशनको बिषयलाइ लिएर एउटा हुलले दिनेश सञ्चार गृहमा प्रबेश गरी त्यहाँ कार्यरत पत्रकार हरुलाइ कुटपिट गरेको थियो । 
धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।  तर मृतकका आफन्तले भने उनले आत्महत्या नभई उनको हत्या भएको बताउँदै आएका छन् । समाचारमा आत्महत्या किन लेखेको भन्दै दिनेश सञ्चार गृहको समाचार कक्षमा पुगेर व्यवस्थापक अमिता कुँवर, सह–सम्पादक जनक विष्ट र प्राविधिक कल्पनासिंहमाथि हातपात र कुटपिट गरिएको थियो ।

सो घटना बारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिब बस्नेतको नेतृत्वमा चार सदस्यीय छानबिन समिती गठन गरीएको छ । राष्ट्रिय मानब अधिकार आयोगले पनि घटनाबारे छानबिन गरीरहेको छ । 

प्रकाशित:
2020/09/16, 8:18