धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

Covid Death File Photo
सुदूर प्रेस संवाददाता

धनगढी - कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ५ की ५७ बर्सिया सङ्क्रमित महिलाको बुधवार साँझ मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिए पछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । 

कडा लक्षण देखिएपछि उनको प्लाज्मा थेरापीमार्फत उपचार गरिए पनि उपचार सम्भव नभएको उपचारमा संलग्न चिकित्सक डा नीराजनदत्त शर्मा पौडेलले बताए । उनको उपचारमा रेमडेसिविर औषधी समेत प्रयोग गरिएको थियो । 

‘उनमा मधुमेहको समेत समस्या थियो ।’ डा शर्माले भने, ‘कोभिड निमोनियाका कारण फोक्सोमा समेत समस्या देखिएको र कृत्रिम श्वास प्रश्वासबाट उनको उपचार सम्भव भएन ।’

योसँगै सुदूरपश्चिममा सङ्क्रमित मृतकको सङ्ख्या १५ पुगेको छ ।

 

प्रकाशित:
2020/09/16, 7:27