बैतडीका दुई गाउँपालीकामा विद्यालय खुले

Baitadi

बैतडी–कोरोना संक्रमितमुक्त शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले विद्यालय सञ्चालन गरेका छन्। कोरोनाका कारण लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा बालबालिकामा असर परेकाले विद्यालय सञ्चालन गरिएको गाउँपालिकाले जनाएका छन्। गाउँपालिकामा केही दिनअघि बसेको बैठकको निर्णयअनुसार आइतबारदेखि गाउँपालिकाभरिका विद्यालय सञ्चालनमा आएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। उनले भने, ‘क्वारेन्टाइन तथा आइसोलेसन बनाइएका विद्यालयहरुलाई निसंक्रमीकरण गर्नुका साथै सरसफाई  गरेर विद्यालय सञ्चालन गरिएको हो।’ शिवनाथ गाउँपालिकाका ३७ वटा सामुदायिक विद्यालयहरुमा पठनपाठन शुरु भएको हो। यस्तै, पञ्चेश्वर गाउँपालिकाले पनि विद्यालय सञ्चालन गरेको छ। गाउँपालिकभरिका क्वारेन्टाइन र आइसोलेसन बनाइएका विद्यालयहरुमा निसंक्रमीकरण र सरसफाइ गरेपछि विद्यालय सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। पञ्चेश्वरमा ३५ वटा सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएको हो।  ‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको छ,’ अध्यक्ष चन्दले भने, ‘शिक्षक विद्यार्थी सबैले सामाजिक दूरी कायम गर्नुका साथै मास्क र सेनेटाइजरको प्रयोग गरेर विद्यालय सञ्चालनमा आएका हुन्।’ बैतडीमा ३८८ जनामा कोरोना संक्रमण पुष्टि हँुदा पञ्चेश्वरमा सबैभन्दा बढी ६० जना संक्रमित रहेका छन् भने शिवनाथका ५० जनामा कोरोना देखिएको छ। संक्रमित सबै कोरोना जितेर घर फर्किसकेका छन्। स्थानीय तहहरुले पनि विद्यालय सञ्चालनको लागि योजना बनाइरहेको बताएका छन्।

प्रकाशित:
2020/09/21, 10:23