बैतडीमा चितुवा मृत फेला

chituwa

बैतडी–पाटन नगरपालिका–८ स्थित ज्याफु जंगलमा एउटा चितुवा मृत फेला परेको छ। करिब सात वर्षको चितुवा मरेको अवस्थामा फेला परेको हो। डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीका अनुसार चितुवा एक साताअघि नै मरेको हो। उनले भने, ‘एक साताअघि नै पासोमा परेर घाइते भएको चितुवा मरेको हुनसक्छ।’ मृत बाघलाई वन कार्यालयमा ल्याएर मुचुल्का गरी गाड्ने पराजुलीले बताए। यस्तै, सिगास गाउँपालिका–२ गाँजरीमा एक चितुवालाई स्थानीयले घेरेर राखेका छन्। स्थानीयले चितुवालाई घेरेको खबर पाएपछि प्रहरी र वन कार्यालयको टोली गएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए। चितुवालाई नियन्त्रणमा लिन सम्भव नभएकोले जंगलतर्फ नै धपाइने डिभिजनल वन अधिकृत पराजुलीले जानकारी दिए। ‘नियन्त्रणमा लिन वन कार्यालयसँग दक्ष जनशक्ति र उपकरण नभएकाले जंगलतर्फै धपाउँछौं,’ उनले भने, ‘निकुञ्जको तालिम प्राप्त टोलीले मात्रै जिउँदो चितुवा लिनसक्ने भएकोले त्यहाँबाट आउदासम्म चितुवा भागिसक्छ।’
 

प्रकाशित:
2020/09/22, 1:30