कञ्चनपुरमा सामुदायिक बन र सुरक्षा निकायबिचको  समन्वय बैठक सम्पन्न

बन र वन्यजन्तु संरक्षणका विषयमा छलफल
forest discus
सुदूर प्रेस संवाददाता

कञ्चनपुर– सामुदायिक बनका पदाधिकारी,स्थानीय सरकार र सुरक्षा निकायहरुसंगको विशेष समन्वय बैठकमा बन ऐन २०७६ सम्बन्धी नियमावलीका विषयमा छलफल गरिएको छ । 

शुक्रवार डिभिजन बन कार्यालय कञ्चनपुरको आयोजना तथा सब–डिभिजन बन कार्यालय,पचकडियाको संयोजकत्वमा सम्पन्न भएको विशेष समन्वय बैठकमा बन ऐन २०७६ सम्बन्धी नियमावलीका विषयमा व्यापक छलफल भएको हो ।

कञ्चनपुरका बन अधिकृत अजय विक्रम मानन्धरको सभापतित्वमा भएको  कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा प्रमुख अतिथि थिए । बैठकमा सामुदायिक बनहरूमा हुने चोरी निकासी,हात्ती आतङ्क, बन अतिक्रमण र यिनीहरूको रोकथाम तथा नियन्त्रणका विषयमा छलफल भएको थियो । 

कार्यक्रममा नगर प्रमुख जीवनराज थापाले वर्षौं देखि पुर्नवास क्षेत्रमा हात्ती जारी रहेकाले यसको नियन्त्रणका लागी नाकामा सोलरबाट करेन्ट प्रवाह हुने तार लगाइने बताए । 

त्यस्तै  कञ्चनपुरका बन अधिकृत अजय विक्रम मानन्धरले बन ऐन २०७६ सम्बन्धी नियमावली देखाउँदै सोही अनुरूप रहेर मात्रै कार्य गर्नुपर्ने र स्थानीय तहसँग सहकार्य नगरे सम्म सामुदायिक बनहरूले पाउने सेवा सुविधा वञ्चित हुने भन्दै सामुदायिक बनहरूलाई स्पष्ट जानकारी गराए ।

बैठकमा बन संरक्षण क्षेत्र लाल झाडीका अध्यक्ष राजबहादुर ऐर ,पुनर्वास नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खाती, जनजागरण बनका अध्यक्ष कृष्णबहादुर तामाङ लगाएतले धारणा राखेका थिए ।

कार्यक्रम सञ्चालन सब डिभिजन बन कार्यालय पचकडियाका सहायक बन अधिकृत दिनेश यादवले गरेका थिए । 

No description available.

No description available.

 

प्रकाशित:
2020/09/26, 6:56