आइपिएलःराशिदको घातक बलिङसँगै दिल्ली पराजित

rasid

एजेन्सी – स्पिनर राशिद खानको घातक बलिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ ।

मंगलबार राती सम्पन्न ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले तेस्रो खेलमा पहिलो जित हात पारेको हो । दिल्लीको जारी सिजनमा यो पहिलो हार हो । जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन बनायो ।

दिल्लीलाई अन्तिम १२ बलमा जितको लागि ३७ रन आवश्यक परेको थियो । १९ औं ओभरमा ९ रन बटुलेपछि अन्तिम ओभरमा जितको लागि २८ रन आवश्यक परेको थियो । तर दिल्लीले अन्तिम ओभरमा एक विकेट गुमाउँदै १२ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा कागिसो रबाडाले छक्का प्रहार गरेपनि जितको लागि त्यो पर्याप्त थिएन । रबाडा ७ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे ।

दिल्लीले पहिलो ओभरको पाँचौ बलमा ओपनर पृथ्वी शा लाई दुई रनमा गुमाएको थियो । शा भुवनेश्वर कुमारको बलमा एज लाग्दै विकेटकिपर जोनी बेयरस्टोको हातबाट समातिएका थिए । आठौं ओभरको दोस्रो बलमा कप्तान श्रेयस ऐर १७ रनमा आउट भए ।

स्पिनर राशिद खानको बलमा ठूलो सट खेल्ने धुनमा ऐर अब्दुल सामदबाट क्याच आउट हुन पुगे । ऐरले २१ बलमा २ चौका प्रहार गरे । राशिदकै १२ औं ओभरको तेस्रो बलमा कट बिहान्ड हुँदै ओपनर शिखर धवन ३४ रनमा पेभिलिएन फर्के । धवनले ३१ बलमा ४ चौका प्रहार गरे ।

भुवनेश्वर कुमारको १६ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका शिम्रन हेटमायर मनिष पान्डेबाट २१ रनमा आउट भएपछि दिल्ली दबाब परेको थियो । हेटमायर १२ बलमा २ छक्का प्रहार गरे । चौथो विकेटका लागि हेटमायर र ऋषभ पन्तले ४२ रनको साझेदारी गरेका थिए ।

स्पिनर राशिदको १७ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका विकेटकिपर ऋषभ पन्त डिप स्क्यिावर लेगमा प्रियम गर्गले ३२ रनमा क्याच आउट गराएपछि खेल थप रोमाञ्चक बनेको थियो । पन्तले २७ बलमा २ चौका र २ छक्का प्रहार गरे । १८ औं ओभरको अन्तिम बलमा टि नटराजनले मार्कस स्टोइनिसलाई ११ रनमा एलबिडब्लू आउट गरेपछि दिल्लीको जित टाढिएको थियो । अक्षर पटेल ५ रनमा बोल्ड आउट भए ।

राशिद खानले ४ ओभरमा १४ रन खर्चेर प्रमुख ३ विकेट लिए । भुवनेश्वर कुमारले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । खलिल अहमदले एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको थालेको हैदराबादले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । हैदराबादका ओपनर डेभिड वार्नर र जोनी बेयरस्टोले ९.३ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । वार्नर स्पिनर अमित मिश्राको बलमा एज लाग्दै विकेटकिपर ऋषभ पन्तबाट ४५ रनमा क्याच आउट हुन पुगे । वार्नरले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

मिश्राको १२ औं ओभरको दोस्रो बलमा मनिष पान्डे ३ रनमा कागिसो रबाडाबाट क्याच आउट गराए । कागिसो रबाडाको १८ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्नेक्रममा बेयरस्टो मिडअफमा एनरिच नोर्टजेबाट ५३ रनमा क्याच आउट भए । बेयरस्टोले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरे । केन विलियम्सन २६ बलमा ५ चौका सहित ४१ रनमा क्याच आउट हुन पुगे ।

विलियम्सनलाई अन्तिम ओभरको चौथो बलमा कागिसो रबाडाले अक्षर पटेलबाट क्याच आउट गराए । डेब्यु खेल खेलि रहेका युवा ब्याट्सम्यान अब्दुल सामद ७ बलमा १ चौका र १ छक्का सहित रनमा १२ अविजित रहे । अभिषेक शर्मा १ रनमा अविजित रहे । स्पिनर अमित मिश्राले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । दिल्लीले चौथो खेल शनिबार कोलकाता नाइट राइडर्ससँग शारजाहमा खेल्ने छ । हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग पहिलो खेलमा १० रनले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ७ विकटेले हारेको थियो । चौथो खेल हैदराबादले शुक्रबार चेन्नई सुपर किंग्सँग दुबईमा खेल्ने छ ।

प्रकाशित:
2020/09/30, 6:41