आइपिएलःचेन्नईमाथि हैदराबादको रोमान्चक जित

ipl
सुदूर प्रेस संवाददाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ ।

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउन सक्यो । यो चेन्नईको लगातार तेस्रो हार हो । हैदराबादको लगतार दोस्रो जित हो । चेन्नईलाई जितको अन्तिम ओभरमा २८ रन चाहिएको थियो । स्पिनर अब्दुल सामदले २० रन खर्चिदै हैदराबादलाई रोमान्चक जित पक्का गराए ।

पहिलो बलमा अब्दुल सामदले वाइड सहित एक्स्ट्रा पाँच रन खर्चेका थिए । पहिलो बलमा धोनीले दुई रन बटुले । दोस्रो बलमा धोनीले चौका प्रहार गरे । तेस्रो बलमा एक रन बुटले । चौथो बलमा साम करनले एक रन बटुलेपछि चेन्नईको जित टाढिएको थियो । पाँचौ बलमा पनि एक रन दिएपछि चेन्नईको हार पक्का बनेको थियो ।

अन्तिम बलमा साम करनले छक्का प्रहार गरेपनि जितको लागि पर्याप्त रहेन । चेन्नईका कप्तान महेन्द्रसिंह धोनी ३६ बलमा ४ चौका र १ छक्का सहित ४७ रनमा अविजित रहे । त्यस्तै साम करन ५ बलमा २ छक्का सहित १५ रनमा अविजित रहे ।

चेन्नईको सुरुवात खराब रह्यो । तेस्रो ओभरको तेस्रो बलमा भुवनेश्वर कुमारले ओपनर शेन वाटसनलाई एक रनमा बोल्ड आउट गरे । छैटौं ओभरको पहिलो बलमा टि नटराजनले अम्बाती रायुडूलाई ८ रनमा बोल्ड आउट गरे । अन्तिम बलमा फाफ डु प्लेसिस २२ रनमा रन आउट हुन पुगेपछि चेन्नई दबाबमा परेको थियो । उनले १९ बलमा ४ चौका प्रहार गरे । स्पिनर अब्दुल सामदको नवौं ओभरको दोस्रो बलमा केदार जाधव तीन रनमा डेभिड वार्नरबाट क्याच आउट भएपछि चेन्नई ४२–४ को कमजोर अवस्थामा पुगेको थियो ।

पाँचौ विकेटका लागि महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले ७२ रनको साझेदारी गरेका थिए । नटराजनको १८ औं ओभरको चौथो बलमा अब्दुल सामदबाट ५० रनमा क्याच आउट भए । जडेजाले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । अब्दुल सामदले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । टि नटराजनले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारले ३.१ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । हैदराबादलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याउन गर्ग २६ बलमा ६ चौका र १ छक्का सहित ५१ रनमा अविजित रहे । गर्गले २३ बलमा आफ्नो पहिलो अर्ध शतक पूरा गरेका थिए ।

अभिषेक शर्मा २४ बलमा ४ चौका र १ छक्का सहित ३१ रनमा क्याच आउट भए । दिपक चहरको १८ औं ओभरको अन्तिम बलमा धोनीबाट क्याच आउट भएका थिए । खराब प्रर्दशन गरेको हैदराबादलाई पाँचौ विकेटका लागि दुई युवा ब्याट्सम्यान अभिषेक शर्मा र प्रियम गर्गले ७७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । पहिलो ओभरको चौथो बलमा दिपक चहरले ओपनर जोनी बेयरस्टोलाई शून्यमा बोल्ड आउट आउट गरे । दोस्रो विकेटका लागि मनिष पान्डे र वार्नरले ४६ रनको साझेदारी गर्दै इनिङलाई सम्हाल्न खोजेका थिए ।

पान्डेलाई शार्दुल ठाकुरले आठौं ओभरको पहिलो बलमा टम करनबाट २९ रनमा क्याच आउट गराउँदै साझेदारीलाई बढ्न दिएनन् । पान्डेले २१ बलमा ५ चौका प्रहार गरे । ११ औं ओभरको पाँचौ बलमा वार्नर फाफ डु प्लेसिसबाट २८ बलमा क्याच आउट हुनपुगेपछि ठूलो योगफल कठिन बनेको थियो । स्पिनर पियुष चवलाको बलमा ठूलो सट खेलेका वार्नरलाई डु प्लेसिसले लङ अनमा उत्कृष्ट क्याच लिदै पेभिलिएन फर्काएका थिए । वार्नरले २९ बलमा ३ चौका प्रहार गरे ।

लगतै अर्को बलमा केन विलियम्सन ९ रनमा रन आउट भएपछि ठूलो योगफलको सम्भावना टाढिएको थियो । एक रन लिन प्रयास गर्दै पिजको मध्यभाग सम्म आएपनि नन स्ट्राइकका प्रियम गर्गले नमानेपछि विलियम्सन धोनी आउटको शिकार बनेका थिए । उनले १३ बलमा १ चौका प्रहार गरे ।चेन्नईका दिपक चहरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । पियुष चवला र शार्दुल ठाकुरको नाममा एक एक विकेट रह्यो ।

चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । राजस्थान रोयल्ससँग १६ रन र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको थियो । पाँचौ खेलमा चेन्नईले आइतबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।

हैदराबाद पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित हुँदा कोलकाता नाइट राइडर्ससँग ७ विकेटको हार बेहोरेको थियो । तर तेस्रो खेलमा दिल्लीलाई १५ रनले हराउँदै हैदराबादले पहिलो जित हात पारेको थियो । हैदराबादले आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

प्रकाशित:
2020/10/03, 6:47