नेयमारको दुई गोलमा पीएसजीको लगातार चौथो जित

foot ball

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमारले दुई गोल गरेपछि फ्रेन्च लिग वानमा डिफेन्डि च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा पीएसजीले एन्जर्समाथि ६–१ को सानदार जित दर्ता गरेको हो । पीएसजीले शुरुवाती दुई खेलम गुमाएपछि लगातार चौथो जित निकालेको हो । पहिलो र दोस्रो खेलमा लेन्स र मार्सेसँग समान १–० ले पराजित भएको पीएसजीले त्यसपछि जितको लय समात्दा मेट्जमाथि १–०, निसमाथि ३–० र रेइम्समाथि २–० को जित निकालेको थियो ।

पीएसजीको जितमा नेयमारले दुई गोल गर्दा एलेसान्द्रो फ्लारेन्जी, जुलियन ड्राक्सलर, इड्रिसा गाना गुआई र केलियन एमबाप्पेले गोल गरे । एन्जर्सका इस्माइल ट्राओरेले सान्वना गोल फर्काए ।

पार्क डि प्रिन्सेसमा शुक्रबार राति गोलको वर्षा भएको खेलमा घरेलु टोलीले खेलको सातौ मिनेटमा नै एलेसान्द्रो फ्लारेन्जीको गोलबाट अग्रता लिएको थियो । पेनाल्टी बक्समा इन्जो इबोसीले राम्रोसँग क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिदै फ्लोरेन्जीले गरेको भली प्रहार टप लेफ्ट कर्नरमा गोल भएको थियो ।

१०औं मिनेटमा नेयमारले २५ यार्ड टाढाबाट गरेको प्रहार एन्जर्सका गोलरक्षक पल बर्नरडोनीले बचाए । १२औं मिनेटमा बाम्बाको क्रसमा स्टेफेन बाहोकेनले बराबरीको सुवर्ण अवसर गुमायो । १५औं मिनेटमा नेयमारको पासमाकेलियन एमबाप्पेको प्रहारलाई एन्जर्सले गोलरक्षकले विफल पारे ।

२८औं मिनेटमा एन्जेलो फुल्गिनीले रिलिज गरेको बलमा बाहोकेनले प्रहार गरेपनि पीएसजीको गोलरक्षक केलर नाभासले रोक्दै बराबरी टारे । ३६औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । एमबाप्पेले दुई खेलाडी बाम्बा र थिओवलाई बिट गर्दै दिएको पासमा नेयमारले क्लोज रेन्जबाट उत्कृष्ट फिनिस गरेका थिए ।

३८औं मिनेटमा पिरिक क्यापेलीको फ्रिकिकमा माटियो पाब्लोभिकको प्रयासलाई नाभासले नै ब्लक गरे । ४१औं मिनेटमा नेयमारको क्रसमा फ्लोरेन्जीको प्रहारमा लाई एन्जर्सका गोलरक्षक बाधक बने ।

४२औं मिनेटमा एमबाप्पेले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । सुरुवातमै बल रिलिज गरेका मोउरो इकार्डी अफ साइड पोजिसनमा रहेका थिए । उनकै पासमा मार्काे भेराट्टीले कटब्याक ब्याकहिलमा एमबाप्पेले जाली चुमाएका थिए ।

४७औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई सहज जिततर्फ अगैसर गराए । जुलियन ड्राक्सलरको पासमा फ्लोरेन्जीको लो प्रहार इस्माइल ट्राओरेलाई डिफ्लेक्ट हुदै आएको बललाई नेयमारको गोलको दिशा दिएका थिए । ५२औं मिनेटमा क्यापेलीको क्रसमा इस्माइल ट्राओरेले हेडरमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएका थिए ।

५७आं मिनेटमा जुलियन ड्राक्सलरले मिट्चेल बाक्केरको पासमा गोल गरेपछि पीएसजीले खेलमा ४–१ को अग्रता लियो । ७१औं मिनेटमा इड्रिसिया गान गुआईले नेयमारको पासलाई सदुपयोग गरेपछि पीएसजी एकतफी जिततर्फ अग्रसर बन्यो । ८४औं मिनेटमा पाब्लो साराबियाको पासमा फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई ६–१ को सानदार जित दिलाए ।

जितसँगै पीएसजी ६ अ‍ेलबाट १२ अंक जोडेर लिग वानको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल म खेलेको रेनिस १३ अंकसहित शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेका लिल, मोन्टपिलिएर, सेन्ट इटिएन, मोनाको र लेन्सको समान १० अंक छ । पराजित एन्जर्स ९ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित:
2020/10/03, 6:54