आइपिएलः साविक विजेता मुम्बई शीर्षस्थानमा उक्लियो

ipl

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स तेस्रो जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार बेलुका सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । जितका लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रन बनायो । हैदराबादलाई अन्तिम १२ बलमा ४७ रन आवश्यक परेको थियो ।

१९ औं ओभरमा जस्प्रित बुमराहले २ विकेट लिदै १० रन मात्र खर्चेपछि हैदराबादको जित टाढिएको थियो । अन्तिम ६ बलमा ३७ रन चाहिएको थियो । तर पोलार्डले २ रन मात्र दिए । पहिलो बलमा राशिद खानलाई दुई रन दिएका थिए । पोलार्डले अन्य पाँच बल लगातार डट राख्दै जित पक्का गरे ।

हैदराबादका कप्तान डेभिड वार्नरले सर्वाधिक ६० रनको योगदान दिएपनि जितको लागि पर्याप्त रहेन । जेम्श प्याटिनसनको १६ औं ओभरको चौथो बलमा इशान किशनले उत्कृष्ट क्याच लिएपछि हैदराबादको जित टाढिएको थियो । वार्नरले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

पाँचौ ओभरको पहिलो बलमा ट्रेन्ट बोल्टले हार्दिक पान्ड्याबाट ओपनर जोनी बेयरस्टो २५ रनमा क्याच आउट गराए । बेयरस्टोले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । दशौं ओभरको पाँचौ बलमा जेम्श प्याटिनसनले काइरन पोलार्डबाट मनिष पान्डेलाई ३० रनमा क्याच आउट गराए । पान्डेले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

१३ औं ओभरको दोस्रो बलमा केन विलियम्सन विकेटकिपर क्विन्टन डी ककबाट ३ रनमा क्याच आउट हुन पुगे । क्रुनाल पान्ड्याको १५ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका प्रियम गर्गलाई राहुल चहलरले उत्कृष्ट क्याच लिदै ८ रनमा पेभिलिएन फर्काएका थिए । जस्प्रित बुमराहको १९ औं ओभरको दोस्रो बलमा अब्दुल सामद २० रनमा रोहित शर्माबाट क्याच आउट भएपछि हैदराबादको जित टाढिएको थियो । सामदले ९ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

जेम्श प्याटिनसनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्याले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जसप्रित बुमराहले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि शारजाहमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । काइरन पोलार्ड १३ बलमा ३ छक्का सहित २५ र क्रुनाल पान्ड्या ४ बलमा २ चौका र २ छक्का सहित २० रनमा अविजित रहे ।

मुम्बईले कप्तान रोहित शर्माले पहिलो ओभरको पाँचौ बलमा ब्यक्तिगत ६ रनमा गुमाएको थियो । सन्दीप शर्माको बलमा रोहित विकेटकिपर जोनी बेयरस्टोबाट कट बिहाइन्ड क्याच आउट हुन पुगेका थिए । कप्तान डेभिड वार्नरले रिभ्यु लिदै रोहितलाई पेभिलिएन फर्काए । सिद्धार्थ कौलले छैटौं ओभरको पाँचौ बलमा सूर्यकुमार यादवलाई २७ रनमा टि नटराजनबाट क्याच आउट गराउँदै दबाबमा राख्न खोजेका थिए । सूर्यकुमारले १८ बलमा ६ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि इशान किशन र क्विन्टन डी ककले ७८ रनको साझेदारी गर्दै इनिङ बढाएका थिए । १४ औं ओभरको पहिलो बलमा राशिद खानले आफैं क्याच लिदै डी ककलाई ६७ रनमा आउट गरे । डी ककले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । सन्दीप शर्माको १५ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका किशन मनिष पान्डेबाट ३१ रनमा क्याच आउट हुन पुगे । किशनले २३ बलमा २ छक्का र १ चौका प्रहार गरे । कौलको २० औं ओभरको दोस्रो योर्कर बलमा हार्दिक पान्ड्या २८ रनमा बोल्ड आउट गरे । पान्ड्याले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

राशिद खानले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । लगातार योर्कर फाल्दै मुम्बईलाई दबाबमा राखेका टि नटराजनले विकेट लिन नसकेपनि ४ ओभरमा २९ रन खर्चेका थिए । सिद्धार्थ कौलले ४ ओभरमा ६४ रन खर्चेर २ विकेट लिए ।

मुम्बईले छैटौं खेलमा मंगलबार राजस्थान रोयल्ससँग खेल्ने छ । हैदराबादले छैटौं खेलमा किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ४ खेलमा १ मा हार र ३ मा जित सहित ६ अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ ।

प्रकाशित:
2020/10/05, 5:20