इंग्लिस प्रिमियर लिगः युनाइटेडको मैदानमा टोटेनहम ६–१ ले विजयी

foot ball

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम हट्स्परले म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा ६-१ को सानदार जित दर्ता गरेको छ ।

खेलको २९ औँ सेकेन्डमा नै युनाइटेडले पेनाल्टी प्राप्त गरेको थियो । एन्थोनी मार्सियललाई डाभीन्सन सान्चेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर टोटेनहमले अप्रत्याशित पुनरागमन गर्दै पहिलो हाफमा नै ४-१ को अग्रता बनाउन सफल रहयो ।

खेलको चौथो मिनेटमा नै टांगी एन्डोम्बेलेले खेल बराबरीमा ल्याए । डिफेन्समा बल क्लियर गर्न नसक्दा फ्रान्सेली मिडफिल्डरले पेनाल्टी क्षेत्र भित्रबाट भिडभाडको बीचमा गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको तीन मिनेटपछि नै टोटेनहमले अग्रता लियो । ह्यारी केनले छिटो लिएको फ्रिकिकमा कोरियाली फरवार्ड ह्युङ मिन सनले सहजै गोल गरे ।

खेलको २८ औं मिनेटमा युनाइटेड १० खेलाडीमा सिमित भयो । कर्नरको तयारी गर्ने क्रममा मार्सियलले लामेलामाथि हात उठाएपछि रेफ्रीले रातो कार्ड दिए । त्यसको दुई मिनेटमा नै टोटेनहमले अग्रता दोब्बर पार्यो । सनको क्रसमा केनले गोल गर्दै ३-१ को स्कोर बनाए । ३७ औं मिनेटमा सनले सर्ज औरीएरको पासमा गोल गर्दै ४-१ को अग्रता दिलाए ।

दोस्रो हाफको ५१ औं मिनेटमा टोटेनहमले पाँचौ गोल गर्यो । पिएर एमिल होएबिएरको पासलाई सर्ज औरीएरले गोल गर्दै अग्रता फराकिलो बनाए । ७९ औं मिनेटमा टोटेनहमले पेनाल्टीमा गोल गर्ने अवसर पायो । पल पोग्बाले बेन डेभिसलाई लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गर्दै स्कोर ६-१ बनाए ।

यस जितपछि टोटेनहम ४ खेलमा ७ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेड भने ३ खेलमा ३ अंकसहित १६ औं स्थानमा रहेको छ ।

प्रकाशित:
2020/10/05, 8:20