दिल्ली क्यापिटल्स आइपिएलको शीर्षस्थानमा

ipl
सुदूर प्रेस संवाददाता

एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडाको घातक बलिङसँगै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार राती सम्पन्न आइपिएलको १९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन बनायो । दिल्लीको कसिलो बलिङ सामु बेंगलोरका कुनै पनि ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न सकेनन् ।

तेस्रो ओभरको अन्तिम बलमा ओपनर देवदत्त पाडिक्कल ४ रनमा मार्कस स्टोइनिसबाट क्याच आउट हुन पुगे । उनी स्पिनर रविचन्द्रन आश्विनको बलमा ठूलो सट खेल्नेक्रममा क्याच आउट हुन पुगेका थिए । चौथो ओभरको अन्तिम बलमा अक्षर पटेलले विकेटकिपर ऋषभ पन्तबाट अर्का ओपनर आरोन फिन्चलाई १३ रनमा क्याच आउट गराउदै दबाब बढाए ।

छैटौं ओभरको पाँचौ बलमा एनरिच नोर्टजेले एबी डिभिलियर्सलाई ९ रनमा शिखर धवनबाट क्याच आउट गराए । १२ औं ओभरको अन्तिम बलमा मोईन अली ११ रनमा क्याच आउट हुन पुगे । १४ औं ओभरको तेस्रो बलमा कागिसो रबाडाले कप्तान विराट कोहलीलाई पन्तबाट ४३ रनमा क्याच गराएपछि दिल्ली जिततर्फ अघि बढेको थियो ।

वासिन्टन सुन्दरलाई रबाडाले १६ औं ओभरको अन्तिम बलमा आश्विनबाट १७ रनमा क्याच आउट गराए । शिवम दुबेलाई रबाडाले ११ रनमा बोल्ड आउट गरे । रबाडालेनै इसुरु उडानालाई १ रनमा क्याच आउट गराए । नोर्टजेले १९ औं ओभरको अन्तिम बलमा मोहम्मद शिराजलाई ५ रनमा बोल्ड आउट गरे । नवदीप सैनी १२ रनमा अविजित रहे ।

रबाडाले ४ ओभरमा २४ रन खर्चेर प्रमुख ४ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । इनरिच नोर्टजेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । दिल्लीलाई बलियो योगफलमा पुर्याउन स्टोइनिस २६ बलमा ६ चौका र २ छक्का सहित ५३ रनमा अविजित रहे । स्टोइनिसले २४ बलमा अर्ध शतक प्रहार गरे । जारी सिजनमा स्टोइनिसको यो दोस्रो अर्धशतक हो ।

ऋषभ पन्तले २५ बलमा ३ चौका र २ छक्का सहित ३७ रन जोडे । दिल्लीलाई चौथो विकेटका लागि पन्त र स्टोइनिसले ४३ बलमा ८९ रनको उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । पन्तलाई १९ औं ओभरको दोस्रो बलमा मोहम्मद शिराजले बोल्ड आउट गरे ।

दिल्लीलाई ओपनर पृथ्वी शा र शिखर धवनले ६।४ ओभरमा ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । यी दुईबीचको साझेदारी तीव्र गतिका बलर मोहम्मद शिराजले विकेटकिपर एबी डि भिलियर्सबाट ४२ रनमा क्याच आउट गराउँदै तोडेका थिए । एज लागेर क्याच आउट हुनुअघि आक्रामक ब्याटिङ गरेका शा ले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

दशौं ओभरको चौथो बलमा इसुरु उडानले स्पिनर मोईन अलीबाट अर्का ओपनर शिखर धवनलाई ३२ रनमा क्याच आउट गराए । धवनले २८ बलमा ३ चौका प्रहार गरे ।

मोईन अलीको १२ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका कप्तान श्रेयस ऐरलाई डिपमिड विकेटमा देवदत्त पाडिक्कलले उत्कृष्ट क्याच लिदै ११ रनमा पेभिलिएन फर्काए । ऐरले १३ बलमा १ चौका प्रहार गरे । शिम्रन हेटमायर ७ बलमा १ छक्का सहित ११ रनमा अविजित रहे ।

मोईन अलीले २ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । इसुरु उडानाले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए ।

दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । तर तेस्रो खेलमा सनराइजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुग्यो । चौथो खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको थियो । दिल्लीले शुक्रबार राजस्थान रोयल्ससँग खेल्ने छ ।

यता बेंगलोरले पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा पन्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको थियो । चौथो खेलमा राजस्थानलाई ८ विकेटले पराजित गरेको थियो । बेंगलोरले शनिबार चेन्नईसुपर किंग्ससँग खेल्ने छ ।

योसँगै दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

प्रकाशित:
2020/10/06, 6:05