मुम्बई आइपिएलको शीर्षस्थानमा उक्लियो

राजस्थान रोयल्स ५७ रनले पराजित
ipl
सुदूर प्रेस संवाददाता

एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराह र ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट प्रर्दशनमा मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राती २० औं खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्षस्थानमा उक्लिएको हो । मुम्बईले राजस्थानलाई पाँच वर्षपछि हराएको हो ।

जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ७० रनको योगदान दिएपनि एकल प्रयास टोलीलाई जिताउन पर्याप्त रहेन । उनले ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । जेम्श प्याटिनसको १४ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका बटलरलाई लङअनमा काइरन पोलार्डले उत्कृष्ट क्याच लिएपछि राजस्थानको जितको सम्भावना सकिएको थियो ।

राजस्थानले सुरुवात देखिनै खराब प्रर्दशन गर्यो । पहिलो ओभरको दोस्रो बलमै ओपनर यशस्वी जैसवाललाई ट्रेन्ट बोल्टले विकेटकिपर क्विन्टन डी ककबाट शून्यमा पेभिलिएन फर्काएका थिए । जस्प्रित बुमराहको दोस्रो ओभरको चौथो बलमा ठूलो सट खेलेका स्टिभ स्मिथ इनसाइड एज लागेर ६ रनमा डी ककबाट क्याच आउट हुन पुगेका थिए ।

बोल्टको तेस्रो ओभरको पाँचौ बलमा सन्जु स्यामसन रोहत शर्माबाट शून्यमा क्याच आउट हुँदा राजस्थान १२–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि महिपाल लोमरोर र बटलरले ३० रनको साझेदारी गरेका थिए । तर महिपाललाई नवौं ओभरको पहिलो बलमा राहुल चहरले वैकल्पिक फिल्डर अनुकुल रोयबाट उत्कृष्ट क्याच आउट गराए । महिपालले ११ रन बनाए ।

पाँचौ विकेटका लागि दुई इंग्लिस ब्याट्सम्यान बटलर र टम करनले ५६ रनको साझेदारी गर्दै झिनो आशा जगाएका थिए । १५ औं ओभरको चौथो बलमा करनलाई पोलार्डले हार्दिक पान्ड्याबाट १५ रनमा क्याच आउट गराए । जस्प्रित बुमराहले राहुल ट्वाटियालाई ५ रनमा बोल्ड आउट गरेपछि राजस्थानको झिनो आशा सकिएको थियो । तल्लोक्रममा जोफ्रा आर्चरले ११ बलमा ३ चौका र १ छक्का सहित २४ रन जोड्दै रनको अन्तर घटाए ।

ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । जेम्श प्याटिनसनले दुई, राहुल चहर र काइरन पोलार्डले एक एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेका थिए । सूर्यकुमार ४७ बलमा ११ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहे । हार्दिक पान्ड्या १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा अविजित रहे ।

मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ४.५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थियो । यी दुई खेलाडीबीचको साझेदारी पहिलो आइपिएल खेल खेलि रहेका युवा तीव्र गतिका बलर कार्तिक त्यागीले बाउन्सर बलमा डी ककलाई विकेटकिपर जस बटलरबाट २३ रनमा क्याच गराउँदै तोडेका थिए । डी ककले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर श्रेयस गोपालको दशौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका रोहित लङ अनमा राहुल टेवाटियाको हातबाट ३५ रनमा समातिन पुगे । रोहितले २३ बलमा २ चौका र ३ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा गोपालले इशान किशनलाई सन्जु स्यामसनबाट शून्यमा क्याच आउट गराए । जोफ्रा आर्चरको १४ औं ओभरको अन्तिम बलमा क्रुनाल पान्ड्या १७ बलमा १२ रन जोड्दै मिड विकेटमा गोपालबाट क्याच आउट हुन पुगे ।

श्रेयस गोपालले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । कार्तिक त्यागिले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए ।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्सँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो । किंग्स इलेभेन पन्जाबलाई ४८ रन र सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको थियो । मुम्बईले अव अक्टोबर ११ मा दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

राजस्थानले पहिलो खेलमा चेन्नईलाई १६ रन र दोस्रोमा पन्जाबलाई ४ विकेटले पराजित गरेको थियो । तर कोलकातासँग ३७ रन र बेंगलोरसँग ८ विकेटले पराजित हुन पुग्यो । अव राजस्थानले दिल्ली क्यापिटल्सबिरुद्ध अक्टोबर ९ मा खेल्ने छ ।

यो सँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित शीर्षस्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ५ खेलमा ४ मा जित र १ मा हार सहित नेट रन रेटका कारण दोस्रो स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

प्रकाशित:
2020/10/07, 6:05