दसैँ
अब गाउँतिर पनि बिस्तारै
चर्को घाम मत्थर हुँदै गयो होला
दसैँ पूर्वको शीतलताले
सारा मनहरूलाई उन्मादले भरिदिएको होला
खेतमा धानका बालाहरू पहेँलै हुन थाले पक्कै
हामीले विदेशमा
रँगिन सपनाका अक्षताहरू
कल्पनामा निधार भरी बनाई सक्यौ ।
सपनामै लिङ्गे पिगंको झड्का
मच्चाएर कतिलाई चकित पार्यौ
आमा बुबाले दिएको आर्सीवादलाई
कल्पनामै स्वीकार गरयौ ,
तर, हाम्रै
आगमनको प्रतीक्षा
गर्दै टोलाई रहेको छ हाम्रो गाउँ
भन्दै छन् साथी सङ्गी ..
“के तिमी साँचै आउन्नौ यसपालि ?
तिम्रो गोठ र मझेरी पनि तिमी सँग
कति न्यास्रियो होला,
आमा बुबा टोलाउँदै हुनहुन्छ
प्रियसी र प्यारा छोराछोरी बाटो हेर्दै छन्
तिमी बिना चित्त उदास छ
सारा रङ्गिन जीवन फिक्का लागेको छ ।
तिमी आउनुको मात्र एउटा आस छ
आऊ फेरी हामी त्यही बरको रुखमा पिङ हालौँ
खुसी साटौँ, रमाऔँ,
ती पुराना दिनहरूलाई फिर्ता गरौँ ।
कुनै जुक्तिले भए पनि आऊ
यो दसैँ सँगै मनाऔँ ।
वासुदेव भट्टराई
आँप पीपल ( गोरखा)
हाल नर्थ क्यारोलाइना अमेरिका ।