यसरी अघि वढदैछ सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सडक बिस्तारको काम

धनगढी–सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू घरधनीले आफै धमाधम भत्काउन थालेपछि सडक बिस्तारको कामले तिब्रता पाउने भएको छ । 

कतिपय जिल्लामा घरधनीले सडक बिस्तारका क्रममा मुआब्जा माग्दै मुद्दा मामिला गर्दा सडक निर्माण तथा बिस्तारको काम अलपत्र परिरहेका बेला धनगढीमा भने सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू भत्काउन घरधनी आफै लागिपरेका छन् ।

एसियाली विकास बैङ्कको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढी उपमहानगरपालिकामा सन २०२० को जुलाईमा निर्माण व्यवसायीसँग सम्झौता भई काम अघि बढेको हो । 

कैलालीमा धनगढी र गोदावरी तथा कञ्चनपुरको भिमदत्त र शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाई धनगढीले सडक निर्माण तथा विस्तारको काम अघि बढाएको छ । 

खास गरी उपमहानगरपालिकाको उत्कृष्ट सहजीकरण र समन्वयका कारण धनगढीमा सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन स्वयं घरधनी स्वतःस्फूर्त लाग्दा सडक निर्माण तथा विस्तारको काममा तीव्रता आएको क्षेत्रीय सहरी विकास आयोजनाका निर्देशक रवीन्द्र बोहराले बताए । 

निर्देशक बोहराले भने– पूर्वाधार विकासको मुख्य सर्त सडक निर्माण र बिस्तार हो, सडक अधिकार क्षेत्रको सवालमा धनगढी उपमहानगरपालिका निकै अगाडी देखियो, स्थानीयको चेतनाको स्तर, जागरूकता, सहयोग र समन्वयले हामी निकै उत्साहित भएका छौ, अव थप सहयोग बढाउने विषयमा पनि आयोजनाले पहल गर्नेछ । 

४ ओटा नगरपालिका मध्ये सडक अधिकार क्षेत्रको  विषय जुन नगरपालिकामा सहज रूपमा अघि बढ्छ त्यहाँ आयोजनासँग रहेको थप बजेट समेत लगानी गर्ने तयारी रहेको निर्देशक बोहराले जानकारी दिए । 

शुक्रवारसम्म  धनगढी उप–महानगरपालिका वडा न. २ का ९ जना घरधनी र वडा नं ५ का ४ जना घरधनीले उपकरणको सहयोगमा धमाधम घर तथा अन्य संरचना भत्काई रहेका छन् । धनगढी उप–महानगरपालिका वडा नं ५ तारा नगरका गम्भीर सिंह बमले नगरको विकासमा कसैले अवरोध गर्न नहुने बताए  । ‘क्षेत्रीय सहरी विकास आयोजना अन्तरगतको यो सडक १६ मिटरको बन्दै छ बमले भन्नुभयो, थोरै क्षेत्राधिकारमा मेरो संरचना पर्ने भएकाले मैले पक्की घर आफै भत्काउन सुरु गरेको छु । 

घरधनीले संरचना भत्काउँदा नगर प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, उप–महानगरका डिभिजन इन्जिनियर स्वयं उपस्थित भएर सडक क्षेत्र छुट्टाउने काममा सहयोग गरिरहेका छन् । घरधनीहरू आफै घन, सावल लिएर संरचना भत्काउन थालेको नगरप्रमुख नृपबहादुर वडले बताए । 

उप–महानगरपालिकाले सडक क्षेत्राधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रूपमा सम्मान गर्ने, भत्काउन नगरपाकिाले उपकरण प्रदान गर्ने, भत्काएको भागको नक्सा पासमा कर छुट गर्ने, सोही भागमा रंगरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको छ । 

सडक विस्तारका लागि आफ्नो क्याम्पसको कम्पाउन्ड आफै भत्काएर सहयोग गरेका सुदूरपश्चिम एकेडेमीका सञ्चालन सुवास शाहीले नगरको विकासका लागि सहयोग पुगोस् भनेर आफैले संरचना भत्काउन सुरु गरेको बताए ।  ‘सडक नगरवासीका लागि बन्दै छ, शाहीले भन्नुभयो, ‘त्यसैले सडक क्षेत्राधिकारमा संरचना पर्ने घरधनीलाई सहयोग गर्न म अनुरोध गर्दछु ।’ 

वडा अध्यक्ष थापाले भत्काए सडक विस्तारका लागि आफ्नो संरचना   

धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दीपक कुमार थापाले मुख्य सडक बिस्तारका लागि आफ्नो संरचना भत्काएका छन् । बिहीबार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड समेतको उपस्थितिमा वडा अध्यक्ष थापाले धनगढी मुख्य सडक बिस्तार हुने भएपछि संरचना भत्काएका हुन । थापाले जलसा होटेलको अगाडी पट्टी रहेको आँगनको भागमा लगाएको ब्लकहरू भत्काएका हुन । जलसा होटेल रहेको घर वडा अध्यक्ष थापाको हो । उनले सडकको क्षेत्राधिकार भन्दा १ मिटर थप जमिन छोडेका छन् ।

यी हुन धनगढीमा बन्न लागेका सडक

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने गरी सम्झौता भएको धनगढी उप–महानगरपालिकाका इन्जिनियर दिजराज भट्टले बताए । 

गुल्म –चर्च रोड (२ हजार ७ मिटर) 

धनगढी मेन रोड , ट्राफिक चौराहा देखि –कैलाली नाला ( १ हजार ३ सय ८० मिटर) 

हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल ( ७ सय मिटर) 

क्याम्पस रोड– चटकपुर ( ३ हजार ६ सय ५० मिटर) 

धनगढी – खुटिया स्याउले रोड ( ८ सय ७० मिटर ) 

मालपोत रोड ( ४ सय ३० मिटर) 

हसनपुर रोड ( १ हजार १ सय ५० मिटर) 

 

 

 

 

प्रकाशित:
2020/11/06, 2:19