भाव विह्वल कोभिड-१९ बिरामी (कविता)
=================
हँ, (अत्तालिँदै)
को तपाईँ? (भयभीत अनुहार)
ए!
डाक्टर साप? (सम्हालिँदै) (डाक्टर पिपिईमा, अनुहार देखिँदैन)
-------------------------------
लौन डाक्टर साप!
गाह्रो भो मलाइ (श्वास छिटो छिटो लिँदै)
छैन निद्रा रत्तीभर
छैन मन खान पनि
जानै मुस्किल शौच गर्न
श्वास फेर्न गाह्रो किन?
----------------------------------
आएनन्... कोही... भेट्न (लामो लामो सास लिँदै)
हेरेनन् मेरो गति किन?
रुच्थ्यो कि घरको खाना
जिब्रोमा स्वाद आएन किन?
पाए भेट्न श्रीमतीसँग (दुई हात जोड्दै)
मिल्थ्यो कि शान्ति मनमा अलि। (अश्रु धारा)(केही छिनको सन्नाटा)
--------------------------------------------------------------
खोइ त्यो बेडको भाइ आज?
लग्यो कि कोरोनाले नै
कि अन्य रोगले कुनै?
पल्लो बेडको बाजे पनि
परमधाम नै भए किन? (लामो क्रन्दन)
---------------------------------------
न थियो कुनै कुलत
न धूम्रपान, न मधुरस।
चाहिएनन् अैाषधी कहिल्यै कुनै
यस्तो हुनुपर्ने मलाइ नै ? (श्वास प्रश्वासको गति बढ्दै)
------------------------------------------------
नानी दुइटा साना मेरा
बा आमा छन् बुढा
अशक्त......श्री.....म...ती..... .... मेरी (बोल्न गाह्रो हुँदै)
हेर्ला कसले....... लाैननी ?
-------------------------------------------------
बिन्ती.....! (फेरी दुई हात जोड्न कोसिस तर असमर्थ)
ब.....चाइ....दिनुस्...... म...लाई।
जान्छे.... कहाँ......छोरी...... मेरी
भयो........... भने..............मलाई............. केही ? (लामो श्वास)
(श्वास प्रश्वास बन्द अनि बेहोस) (भेन्टिलेटरमा उपचार सुरु)
--------------------------------------------------------
(१४ दिन आइसियुमा उपचारपछि)
ए!
डा. साप! म बाँचे?
साँच्चै म बाँचे! (डाक्टर लाइ छोएर खुसी हुँदै)
धन्य छु म पाइ बाँच्न
कृतज्ञ छु सबैप्रति
नलागोस् कोभिड कसैलाई
नहोस् कसैको यस्तो गति।
======================
डा. हेम राज पनेरू
धनगढी,कैलाली
हालः–आइ सी यु फिजिसियन, त्रि वि शिक्षण अस्पताल महाराजगन्ज,काठमाडौँ