पश्चिम तराइका थारू समुदायमा माघीको चहलपहल

सुदूर प्रेस संवाददाता

धनगढी–पश्चिम तराइका थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरू भएको छ। थारू समुदाय नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन्। रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरू घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो भएको छ।

माघलाई विभिन्न ठाउँका थारू समुदायले आ–आफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ। केही वर्ष पहिले थारू समुदायका अधिकांश छोरीहरू कमलरी थिए। उनीहरूले माघका दिनमात्रै छुट्टी पाउँथे, त्यसैले यसलाई मुक्ति दिवसका रुपमा पनि मनाइन्छ।

माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम शुरू भएको घोराही–७ वेसाहीका अनुपमा चौधरी बताउँछन्‌। उनका अनुसार ढिक्री, रोटी, माछा र घोङीको परिकार बनाएसँगै माघीको सम्पूर्ण तयारी पूरा भएको छ।

यसपालि कोरोनाका कारण नाचगानको कार्यक्रम छैन, तर खानाको परिकार बनाउन भ्याइनभ्याइ छ। कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ र दिदीबहिनी फर्कनेक्रम बढेको छ। 

वेसाही गाउँ थारू समुदायको बाक्लो बस्ती भएको ठाउँ हो। घरको काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबुवा, दाजुभाइ, दिदीबहिनी जुटेका छन्‌।

थारू समुदायले माघमै आफ्नो मुखिया चुन्ने, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिइँदै आएको थारू अगुवा पूर्ण चौधरी बताउँछन्‌। 'वर्षभरिका लागि योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि महत्वपूर्ण छ, माघमा प्रत्येक वर्ष नाचगान हुने घोराही–१७ कर्जाही गाउँमा यो वर्ष नाचगानको तयारी भने छैन', उनी भन्छन्‌, 'पुसको २५ देखि माघको ५ गतेसम्म मघौटा नाच हुने गर्दथ्यो।'

सधैँ काममा व्यस्त रहने थारू समुदाय माघको समयमा फुर्सदिला हुने र खानपिन गरेर आफ्ना साथीसङ्‌गीसँग रमाइलो गर्ने गर्छन्‌। अन्नपात भित्र्याएर भकारीभरि धान राखेर आनन्दसँग माघी मनाउने गरेको चौधरी बताउँछन्‌। 

थारू कल्याणकारी सभा दाङका सभापति भुवन चौधरीले थारूहरूको महान् पर्वलाई मानिसले माघी भन्ने गरे पनि वास्तवमा यो पर्व माघ भएको बताए। विषेश पर्व भएका कारण यसको थारू समुदायमा धेरै महत्व छ। यस वर्ष कोरोनाका कारण भेला, नाचगान र सभा गर्ने कार्यक्रम नभएको उनले बताए।

 लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति पर्वको अवसरमा माघ १ र २ गते प्रदेशभरि सार्वजनिक बिदा दिने भएको छ।

प्रकाशित:
2021/01/13, 8:59