कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदै,सुदूरपश्चिममा सबै तयारी पुरा

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गर्नुहुनेछ । पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा मुख्यमन्त्रीले खोपको उद्घाटन गर्ने

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आजबाट कोरोनाभाइरसविरुद्धको खोप अभियान शुरु हुँदै छ । प्रदेशका ९  जिल्लाका १० वटा अस्पतालमा खोप पु¥याइसकिएको छ । बिहान १० बजे धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा मुख्यमन्त्री त्रीलोचन भट्टले उद्घाटन गरेपछि प्रदेशका ९ वटै जिल्लामा संक्रमितलाई खोप दिन थालिनेछ । सुदुरपश्चिम प्रदेशमा कोभिड बिरुद्धको पहिलो खोप सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा।गुण राज अवस्थीले सेती प्रादेशिक अस्पतालबाट आफूलाई लगाएर शुरुवात हुने बताए ।

९ वटै जिल्लाका १६ हजार २ सय ९३ जनालाई पहिलो चरणको खोप लगाउने तयारी गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका १६ हजार २ सय ९३ जनालाई पहिलो चरणकोकोरोना महामारीविरुद्धको  खोप लगाउने तयारी गरिएको छ । त्यसका लागि मंगलबारनै प्रदेशका ९ वटै जिल्ला सदरमुकाममा रहेका  जिल्ला अस्पताल र टीकापुर अस्पताल गरी १० वटा केन्द्र तोकिएको छ । पहिलो चरणमा जिल्ला अस्पताल र ठूला अस्पतालमा अग्रपंक्तिमा बसेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, स्वयंसेविका,सरसफाइकर्मी र सुरक्षाकर्मीलाई निःशुल्क रूपमा लगाउने प्रदेश सरकारको तयारी छ ।त्यसलगत्तै आम नागरिकलाई खोप लगाइनेछ ।  त्यसका लागि  लागि आवश्यक जनशक्ति तयार गरिएको सुदूरपश्चिका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । 
उनका अनुसार यो खोप दुईपटक लगाउनुपर्छ । एउटा खोप लगाएको २८ दिनदेखि एक महिनाभित्रमा अर्को खोप लगाएपछि यसको मात्रा पूरा हुन्छ । कोरोना महामारीविरुद्धको खोप लगाउनेलाई सरकारले खोप कार्ड दिने व्यवस्था मिलाएको छ । परिचयपत्रको एकप्रति खोप लगाएको व्यक्ति र अर्को अस्पतालमा राखिनेछ । शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कमका व्यक्तिलाई भने खोप लगाइनेछैन । 
चिकित्सकका अनुसार यो खोप सुरक्षित मानिएको छ । खोप लगाएपछि सामान्य ज्वरो आउने, टाउको दुख्ने र थकाइ महसुस भए७२ घण्टापछि आफैं ठीक हुनेछ ।  खोपपश्चात् कुनै पनि प्रकारका स्वास्थ्य समस्या भएमा तत्कालै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि चिकित्सकले आग्रह गरेका छन् । 

खोप दिने बेलामा के गरिन्छ ?

खोप सेवा सञ्चालन हुने ठाउँमा प्रतीक्षा कक्ष राखिएको हुन्छ । खोप लगाएपछि देखिने असरको निगरानी गर्न निगरानी कक्षको समेत व्यवस्था हुन्छ । खोपलाई घामको किरणबाट जोगाउनुपर्ने भएकाले हावा आवतजावत गर्न मिल्ने कोठामा मात्रै खोप दिने ठाउँ बनाइएको हुन्छ ।

कोरोना संक्रमणबाट बच्न सेवाग्राही र सेवा प्रदायक सबैले खोप केन्द्रमा कम्तीमा २ मिटरको दूरी कायम गर्ने व्यवस्था मिलाइएको हुन्छ । हातको सरसफाइ र मास्कको अनिवार्य प्रयोग हुनेछ । खोप लगाउने ठाउँमा आएकालाई कोरोनाको लक्षण भए/नभएको सोधपुछसमेत गरिन्छ ।

खोप लगाउने व्यक्तिको खोप कार्ड सही तरिकाले भरे/नभरेको जाँच गरिन्छ । खोप लगाउने र लिने व्यक्ति एल आकारमा बस्छन् । खोपका बारेमा र खोप लगाएपछि हुन सक्ने असरका बारेमा समेत परामर्श दिइनेछ । खोप लगाएपछि निगरानी कक्षमा ३० मिनेट बस्नुपर्ने हुन्छ ।

प्रकाशित:
2021/01/27, 7:44