धनगढी–बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार–हत्यामा संलग्न अपराधी लाई कारबाहीको माग गर्दै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आज प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री कार्यालय घेराउ गरिएको छ ।
दश दिन बित्दा पनि बलात्कारीको पहिचान गर्न नसकिएको भन्दै महिला सङ्घको आयोजनामा धनगढीमा प्रदर्शन तथा मुख्यमन्त्री कार्यालय घेराउ गरिएको हो । धनगढीको पार्क चौक बाट सुरु भएको प्रदर्शन नगर परिक्रमा पछि मुख्यमन्त्री कार्यालय घेराउ गरेको हो ।
कार्यक्रममा सहभागीहरूले बलात्कार पछि हत्या भएको दश दिन बित्दा पनि दोषी पहिचान हुन नसकेको भन्दै यो घटनालाई पनि निर्मला काण्ड जस्तै दबाउन खोजिएको त होइन भन्दै सरकार विरुद्ध आक्रोश व्यक्त गरे । समारोहमा महिला सङ्घकी पूर्व केन्द्रीय अध्यक्ष डिला सङ्ग्रौला,धनगढी उप–महानगर पालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्ट लगायतले मनतब्य व्यक्त गर्दै दोषी माथि कारबाहीको माग गरे ।
भागरथी भट्टको बलात्कार पछि हत्या गरिएको १० दिन पुग्दा पनि प्रहरीले हत्यारा समात्न सकेको छैन । हत्यारा पक्राउ नपरे सम्म शब नउठाउने भन्दै उनको शब अहिले सम्म आफन्तले उठाउन मानेका छैनन् ।