म भित्रको ‘म’

Bed joshi
वेद जोशी

बाबु ठुलो भएर के बन्ने ? हरेकले बाल्यकालमा सामना गर्नुपर्ने यो प्रश्नको जवाफ मेरा समकालिन बालसखाहरुसँगभने सधैं एउटै हुन्थ्यो; डाक्टर, ईन्जिनियर वा पाइलट। तर मसँग यो प्रश्नको जवाफ कहिल्यै भएन। सायद बालापनमा त्यो खालको कुरा बुझ्ने सामर्थ्य नै नहुने भएर हुनसक्छ वा मलाई मेरा अभिभावकले यो नै बन्नुपर्छ है भनेरधेरैनघोकाएको भएर पनि हुनसक्छ,म सधैं यो साझा प्रश्नमा निरुत्तरित जस्तै हुन्थे। समयसँगै उमेर बढ्दै जाँदा स्कुलबाट कलेज पुग्दा समेत आफु यही नै बन्छु भन्नेएउटा निश्चित बिन्दुमा कहिल्यै पुगिएन। पढ्दै जाउँ, हेरौं, भविष्यमा कुनै न कुनै बाटो कसो नसमातिएला र ! भन्ने खालको सोचसँगै हुर्किएको पात्र हो म। हुन त लक्ष्य बिनाको पनि मानिस हुन्छ र? भन्ने कथन नसुनेको सायदैले होला। जिवनको लक्ष्य निर्धारण गरी त्यस अनुरुप आफुलाई तयार गर्दै लैजानुपर्ने पाटोबाट सोच्ने हो भने सायद म गलत नै थिँए कि। त्यसो त डाक्टर, ईन्जिनियर वा पाइलट बन्छु भन्ने अधिकांशहरु ति बाहेकका अन्यथुप्रै पेशामा आबद्ध भएको नदेखिएको पनि त होइन। हुन सक्छ समाज अनि परिवारले ठुलो भएर बन्ने भनेकै माथिका तिनवटा पेशा मात्रै हुन भनेर गराइएको सुगा रटाइ र ति बाहेकका अन्य पेशालाइ कम महत्त्व दिने तत्कालिन सोच र परिवेशबाट सिर्जित सवाल-जवाफ थिए होलान ति।

भविष्यमा के बन्ने भन्ने सवालमा सधैं अन्यौलमा रहने म विश्वविध्यालय सम्मको यात्रा तय गरिसक्दा भने समाजमै रहेर विभिन्न गैर-सरकारी संघ-संस्थामा आवद्ध भएर काम गर्ने रहर पलाएसँगै स्नातकोत्तर तहमा साबिक अङ्ग्रेजी साहित्यको विषय नै परिवर्तन गरी सामाजिक अध्ययनको विषयमा प्रवेश गरेको थिँए। अहिले यसो सोच्दा, त्यो बेला मैले आफ्नो मनको आवाज सुनेर पहिलोपटक एककिसिमको खतरा नै मोलेको रहेछु। अन्यौलग्रस्त मनोदशा अनि उचित सल्लाह र दिशानिर्देशको अभावमा थुप्रै युवाहरु आफुलाई नै प्रतिकुल हुने विषय छनौट गरी अनिश्चितताको अध्ययनमार्गमा हिँडिरहेका हुँदारहेछन, जुन कुराको आभाष मलाईअहिले भइरहेको छ। विषय परिवर्तन गर्ने हिम्मत गरे पनि गैर-सरकारी संस्थामा जागिर खान चाहिरहेको म, एकजना मिल्ने साथीको जोडबलमा दिएको आवेदन मार्फत सरकारी सेवामा पो जोडिन पुगे। जुन मेरो लागी ईच्छाइएको विषय नै थिएन, त्यो मेरो अभिन्न पेशा बनेर रह्यो। त्यसो त म मेरो पेशासँग सन्तुष्ट नै छुँ तर पनि ‘लक्ष्य बिनाको कुनै मानिस नै हुन्न” भन्ने समाजको स्थापित मान्यतालाई चुनौती दिँदै लक्ष्यबिहीन भएर हिँडेको म पात्र आज उभिएको स्थानबाट पछाडी फर्केर हेर्दा भने निकै रोमाञ्चक हुने गर्छु। अनि सम्झन्छुँ, चिना बनाइदिने छिमेकी ज्योतिषी गोपी दाईले चिना हेर्दै ‘यसले राजाको सिन्दुर पहिरिन्छ’ भनेको कुरा र बाबु ठुलो भएर के बन्छौ? भन्ने धेरैको प्रश्नमा म निरुत्तरित हुँदा हत्त न पत्त आमाले अब ‘भाग्यमा जे लेखेको छ त्यही बन्छ नि मेरो छोरो’ भन्दै मलाई सहज बनाइदिएको क्षणहरुलाई। जुन प्रसङ्गलेआफ्नो भाविले चिनामार्फत पुर्व निर्धारण नै गरेको रहेछ भन्ने अदृश्य सत्यलाई आधार बनाई सरकारी सेवालाई सहर्ष स्विकारी खुशिसाथ अघि बढ्न प्रेरणा दिएको सम्झनत्यो बेला सघाउ गरेको थियो सायद।

समयसँगै आजको अवस्थासम्म आईपुग्दा देश र समाजलाई बुझिरहँदा, कैंयौ भोगाइ र उमेरको परिपक्कतासँगै पहिले भन्दा धेरै बुझ्न सक्ने भएको म पात्रलाई उ बेला के बन्ने भनेर लक्ष्य निर्धारण गर्न नसकेको भन्ने कुरा त थुप्रै युवाहरुको भविष्यमा के गर्ने वा बन्ने ? करियर के हुने ? भन्ने अन्यौल र द्विधायुक्त किशोरावस्था जस्तै आफु पनि सोही मार्फत नै गुज्रिएको रहेछु भन्ने आत्मबोध भएको छ।परिवार, आफन्त र समाजको अनावश्यक दबाब वा भविष्यमा यो नै बन्नुपर्छ भनेर जबर्जस्ति लाद्ने प्रवृतिको शिकार थुप्रै बालमस्तिष्क र किशोर- किशोरीहरु हुनुपरेको तितो सत्य हिजोजस्तै आज पनि छ र आशा गरौं भोलिका दिनमा यस्तो नहोस। वास्तवमा यो अवस्थामा त उनिहरुको मनोभावनालाई बुझ्ने अनि करियर काउन्सिलिङ मार्फत सही मार्ग पहिल्याउन सक्ने सहयोगको पो आवश्यकता हुँदोरहेछ। हुन त तुलनात्मक रुपमा अहिलेको पुस्ता यस अर्थमा धेरै हदसम्म भाग्यमानी साबित भइरहेको छ। आफ्नो करियर केमा बनाउने भन्ने विषयमा भएका थुप्रै विकल्पहरु, करियर गाइडलाइन, ईन्टरनेटको सहज पहुँच र काउन्सिलिङका कक्षाहरुबाट अहिलेको पुस्ता लाभांवित देखिनुका साथैपहिलाजस्तो डाक्टर,ईन्जिनियर, पाईलट मात्रै सम्मानित पेशा होइनन भन्ने समाजमा आएको वैचारिक परिवर्तनले अरुले के बन्न भन्छ भन्दा पनि आफ्नो मनको सुन्नुपर्छ भन्ने खालको सकारात्मक वातावरण बन्दै गइरहेको छ, जुन खुशिको कुरा हो। यसतर्फ हरेक अभिभावकहरु गम्भिर हुन समेत उत्तिकै जरुरी छ।

यसो भनिरहँदा कहिलेकाँही म आफुभित्र पनि नियाल्छु र आफैलाई बुझ्ने प्रयास गर्छु, सायद अहिलेको जस्तो किशोरमैत्री वातावरण आफ्नो किशोरावस्थामा समेत भएको भए म के बन्न उत्सुक हुन्थे होला? मेरो पनि त केही न केही रुचीको विषय थियो होला भनेर आफैभित्रको ‘म’ लाई खोज्ने प्रयास गर्छु।बाल्यकालमा म निकै कम बोल्ने स्वभावको थिँए। कसैले गरेको प्रश्नको जवाफ दिने भन्दा धेरै नबोल्ने बच्चा अहिले खुब गफिनुपर्ने, आफुलाई खड्किएको कुरामा धारणा राख्नुपर्ने, चित्त नबुझेको कुरामा प्रतिक्रिया दिनुपर्ने र सकभर सबैसँग सामाजिक रुपमा सौहार्दपुर्ण व्वयहार गर्न रुचाउने स्वभावको व्यक्तिको रुपमा परिणत भएको छ। सानो छँदा चित्र कोर्न रुचाउने म किशोरावस्थामा साथिहरुसँग क्लब गठन गरी चाडपर्व लक्षित सांस्कृतिक कार्यक्रम गर्ने, नाटक लेखन,निर्देशन र अभिनय समेत गर्न रुचाउने स्वभावलाई सम्झँदा आफुभित्र कता-कता कलाप्रतिको झुकाब रहेको तथ्य उजागर गर्न पुग्छु। एस.एल.सी. सकेपछिको खालि समयको मेरोसाथि नै रेडियो हुने गर्दथ्यो।गित-संगितहरुको पारखी म राति अबेरसम्म गित सुन्दै सुत्नेबानिले गर्दा रेडियो नेपालको सेवा समाप्त भईसकेर स्वाँ.. गरिरहेको रेडियोलाई आमाले बिहानको धार्मिक कार्यक्रमका लागी खोज्दै गर्दा मेरो सिरानिमा भेटेर लग्नु स्वभाविक दैनिकी जस्तै हुन्थ्यो। कलेज पढ्दा लिएको उद्घोषण तालिम र तत्पश्चात स्थानिय मिडियामा कार्यक्रम प्रस्तोताको रुपमा जोडिएको प्रसङ्ग होस वा कलेजको स्वागत र वार्षिकोत्सव कार्यक्रमको हिस्सा बनिरहने परिवेश होस, म साच्चै नै कला अनुरागी व्यक्ति रहेको कुरामा प्रष्ट भएको छु अहिले।हुन त त्यो बेलाको रहरलाई पुरागर्छु भनेर मोडलिङको बाटो समेत नढकढक्याएको त होइन तर बाहिरबाट देखिने चमकतालाई वास्तविकताको अँध्यारोले ओझेल पारेसँगै त्यसतर्फको मोह पनि सेलाएर गयो। त्यो उमेरमा सबैलाई कला, गित-संगित र मिडियामोह हुनु स्वभाविक हो भन्ने मेरो ठम्याई र सायद त्यो समयमा मेरो रुचीको विषयले पेशाको आकार लिन सक्दैन भन्ने समेत ठानेर होलाआफ्नो विश्वविद्यालयको अध्ययनलाई नै प्राथमिकता र महत्व दिन पट्टी लागे।

 

त्यसो त मेरो यो आलेख, आफुले गलत निर्णय लिएको वा सही निर्णय लिन नसकेकोमा पछुतो मानिरहेको भन्नेतर्फ कदापि केन्द्रित छैन, मात्रबाल्यकाल र किशोरावस्थामा आइपर्ने  समस्याहरु र समाज अनि परिवारको महत्वकांक्षाले समेत थुप्रै युवाहरुको करियर छनौटमा हुने अन्यौल र पार्नसक्ने असरतर्फ केही भएपनी सकारात्मक संदेश जान सकोसभन्ने ध्येयमा केन्द्रित रहेको छ।किनकी हरेकले किशोरावस्थामा यो समस्यासँग ठोकिनुपर्नेभएकाले समयमै उचित परामर्श र विवेकपुर्ण निर्णयको आवश्यकता महत्वपुर्ण हुन्छ भनेर सबैले बुझ्न जरुरी छ भन्ने मेरो मान्यता हो। मसँग जे छ र म जहाँ छु एकदमै सन्तुष्ट छुँ।त्यसै पनी म आफुसँग नभएको वा हुन नसकेको कुरामा चिन्तित हुनुभन्दा आफुसँग भएको कुरा नगुमोस भन्ने तर्फ बढी चिन्तित हुनुपर्छ भन्ने तथ्यमा विश्वास गर्दछु।

अपरिपक्वता र अस्थिर मनकै कारणले सायद उ बेला आफु भित्रको ‘म’ लाई राम्रोसँग चिन्न नसकेको हुँला तर आज आफ्नो जागिरे जिवन, पारिवारिक र सामाजिक जिवनको जिम्मेवारीबोध सँगै नितान्त ‘म’ लाई समेत ध्यानमा राख्नुपर्ने आत्मबोधले गर्दा समय मिलेसम्म कला र सिर्जनाका कार्यमा आफुलाई संग्लग्न गर्दै आइरहेको छुँ। अनावश्यक कुरामा समय व्यतित गर्नुभन्दा सिर्जनशिलतामा रमाउने प्रयत्न गर्दा साच्चै अनौठो खुशी मिलेको आभाष समेत भइरहेको छ। भनिन्छ नि, कोदालो र हलोको फालीलाई नियमित प्रयोगमा ल्याइएन भने बिस्तारै खिया लाग्न थाल्दछ, त्यही सम्झेर आफुलाई समेत चलायमान बनाइरहनु आवश्यक छ ठानेर आफुभित्रको ‘म’सँग रमाउनमा अभ्यासरत छुँ आजभोलि। अरुले के भन्ला भन्ने कुरालाई बिर्सिएर आफुलाई महत्व दिँने र माया गर्नेतर्फ प्रेरित भइरहेको छुँ।त्यसैले उ बेला पुरा गर्न नसकेको रहरलाईआज कहिले आफ्नै रचनाको गितमा अभिनय गरेर त कहिले निजी विचार र अनुभुति मार्फत सबैसामु आफ्नो सिर्जनालाई पस्कने प्रयास गरेर कलालाइ अंगालिरहेको हुन्छु। मनको भावनाको सहयोगमा शब्दहरुसँग खेल्नु, अनि त्यसैमा रमाउँदै खुशी खोज्नु समेत रोजाइको विषय बनेर रहेको छ।  त्यसैले आफ्नो नियमित जिवन र जिम्मेवारी सँग-सँगै गित, कविता, कथा, संष्मरण र विचारहरु जस्ता रचना अनि सृजनाहरुसँग रमाईरहेको छुँ। ह्रदयभरीको सुख, मनको शान्ती र अतिरिक्त खुशीसँगै आफुभित्रको ‘म’ लाई महत्व दिँदै कुनै बेला ठुलो भएर के बन्ने ? भनेर अन्यौलमा रहेको म,आज हरदम समाजमा असल व्यक्ति बन्ने एवं समाजलाई सक्दो सकरात्मक प्रभाव पार्ने तर्फ प्रयत्नशील रहने सोचलाई आत्मसाथ गर्दै, एक सफल जिवन र सुन्दर भविष्यप्रति आशावादीहुँदै अघी बढीरहेको छुँ।

 

प्रकाशित:
2021/02/27, 7:05