धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाद्वारा खुला सरकार घोषणा 

ok
सुदूर प्रेस संवाददाता

धनगढी– कैलालीको धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाले शनिवार एक कार्यक्रमका बिच आफूलाई खुला सरकार घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवसको अवसर पारेर धनगढी उप–महानगरपालिका र कैलाली गाउँपालिकाले खुला सरकार घोषणा गरेका हुन । 

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले खुला सरकार घोषणा पत्रमा  हस्ताक्षर गरेर नागरिक अन्तर संवाद कार्यक्रममा सार्वजनिक गरेका हुन । घोषणापत्रको धारा १ मा खुला सरकारको अवधारणा अवलम्बन गर्ने कुरा , धारा २ मा खुला सरकारका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, धारा ३ मा सूचना तथा आँकडाहरू प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

धनगढी उप–महानगरपालिकाले आफूहरूको नेतृत्व आएदेखि नै खुला सरकारको अवधारणा अनुसारका क्रियाकलाप गर्दै आएको बताए । नागरिकहरूका लागि उप–महानगरपालिकाले सबै कुरा खुला गरेको छ नगरप्रमुख वडले भने, खुला सरकारलाई प्रवर्द्धन गर्ने औजारहरूको प्रयोग गरिएको छ । धनगढी उप–महानगरपालिकाको आईएमएस धनगढी, डाटा पोर्टल, ई सिफारिस, वेभ साइटहरू, म्यासेजिङ्ग सिस्टम र सूचनाको स्व स्फूर्त प्रकाशन जस्ता कुरा खुला सरकार निर्माणमा सहयोग पु¥याउनका लागि सञ्चालन गरिएको नगरप्रमुख वडले बताए । उनले भने, ‘खुला सरकार घोषणा पत्र सधैँ पालना गर्नेमा प्रतिबद्ध छौँ ।’ 

कैलाली गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले खुला सरकार निर्माणका लागि पालना गर्नुपर्ने सबै सर्त पालना गरिएको बताए । खुला सरकारका लागि सरकार नागरिक सहभागिता, पारदर्शिता र उत्तरदायी हुनुपर्छ त्यो कुरामा हामी सधैँ प्रतिबद्ध छौँ । अन्तर्राष्ट्रिय तथ्याङ्क दिवसको अवसरमा सुशासन परियोजना अन्तरगत धनगढी उप–महानगरपालिका र ग्राम विकास केन्द्रले कैलाली जनपुस्तकालयमा सामुदायिक सूचना केन्द्रको स्थापना गरेका छन् । सामुदायिक सूचना केन्द्रको नगरप्रमुख वडले उद्घाटन गरेका छन् । सोही अवसरमा नागरिक अन्तर संवाद पनि सञ्चालन गरिएको थियो ।  

कार्यक्रममा कैलाली जनपुस्तकालयका  अध्यक्ष डा. टी एन जोशीले कैलाली जनपुस्तकालयमा सामुदायिक सूचना केन्द्र स्थापना गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

 

प्रकाशित:
2021/03/06, 7:58