कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको घुइँचो

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी — डोटीको बोग्टान दानाचौर गाउँका १४ युवाको समूह शनिबार बिहान गौरीफन्टा भन्सारको ‘हेल्थ डेस्क’ मा स्वास्थ्य जाँचको पर्खाइमा थिए । उनीहरू भारतको महाराष्ट्र, पुनालगायत सहरबाट फर्केका थिए ।

भारतबाट फर्किएका उनीहरूको मनमा एकैखाले चिन्ता थियो– बाटो हेरेर बसेका केटाकेटीको हातमा के थमाउने ? घरमा लागेको ऋण कसरी तिर्ने ? नयाँ वर्षमा खर्च गरौंला भनेर बसेका श्रीमती र आमाबुबाको मन केले बुझाउने ?

दस/पन्ध्र वर्षदेखि भारतका विभिन्न सहरलाई कर्मथलो बनाउँदै आएका उनीहरू कोरोना कालअघिसम्म वर्ष दिनको कमाइ लिएर नयाँ वर्षमा घर फर्कन्थे । गोजीमा दसौं हजार भारतीय नोट, घरका लागि ठुल्ठूला ‘सुटकेस’ र टिनका बाकसभरि नयाँ लत्ताकपडा र सामान हुन्थ्यो । महिना दिनसम्म गाउँघरमा फुर्मासी गरेर उनीहरू पुनः भारत पस्थे । ‘वर्ष दिनमा घर फर्कंदा कमाइको पोको परिवारजनमा बाँड्ने खुसी थामिनसक्नु हुन्थ्यो,’ उनीहरूमध्ये ३८ वर्षे जीवन बोहराले भने । कोरोना महामारीले बाँच्नै मुस्किल बनाइदिएको उनले बताए ।

गत चैतमा उनीहरू कोरोनाका कारण भारतबाट घर फर्केका थिए । ‘त्यसबेला पनि कमाइको पैसो बाटो र क्वारेन्टाइनको बसाइमै सकियो,’ उनले भने, ‘काम गर्ने ठाउँबाट गौरीफन्टा सीमा नाकासम्म पुग्दा नै १० हजार भारु सकियो । सीमामा पनि तीन/चार दिन कुर्नुपर्‍यो । स्थानीय तहको क्वारेन्टाइनमा २० दिनजति काट्नुपरेपछि कमाइको एक पैसा बचेन ।’ उनले घरको उत्पादनले खान नपुग्ने र रोजगारी पनि नपाउने भएपछि गएको मंसिरमा पुनः भारत पसेको बताए । ‘जोखिम मोलेरै भारत पसेका थियौं,’ उनले भने, ‘तर पुनः लकडाउन सुरु भएकाले तीन महिनामै रित्तो हात फर्कनुपरेको छ ।’


यो समूहमात्रै हैन, धनगढीको त्रिनगर–गौरीफन्टा भन्सार नाकामा हिजो/आज भारतबाट फर्कनेको ठूलै लर्को देख्न सकिन्छ । तीमध्ये अधिकांश नेपाली भारतमा पुनः लकडाउन सुरु भएर रोजगारी गुमाउनुपरेका कारण फर्केका हुन् । भारतमै जीविकोपार्जन गर्दै आएका अछाम चौरबाटीका शेरबहादुर विकको चार जनाको परिवार कोरोनाकालमा निकै प्रताडित भएको थियो । भन्सारमै भेटिएका उनले भारतमा लकडाउन भएपछि घर फर्केको बताए । ‘घरमा चार महिना खान पनि मुस्किल भएपछि दसैं मनाएर सपरिवार भारतको महाराष्ट्र काम गर्न गएका थियौं,’ उनले भने, ‘कोरोनाका कारण महाराष्ट्रमा पुनः लकडाउन सुरु भएर रोजगारी गुमेपछि फर्केका हौं ।’

धनगढीको बसपार्कमा बैतडी खोडपेका बिक्रम चन्द दुई नाबालकसहित भेटिए । उनीहरू देहरादूनबाट फर्केका थिए । घरमा खान नपुग्ने भएपछि परिवारसहित भारतको देहरादून गएका उनले कोरोनाका कारण काम नपाएर फर्केको बताए । ‘आफूले काम गर्दै आएको होटलले कर्मचारी घटायो,’ उनले भने, ‘अर्को ठाउँमा पनि काम पाएनौं । फर्कनुपर्‍यो ।’

सीमामा खटिएका सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार नयाँ वर्ष र भारतमा दोस्रो लहरको कोरोनाका कारण घर फर्कने नेपालीको संख्या बढेको छ । नयाँ वर्ष मनाउन आउनेभन्दा बढी कोरोनाका कारण फर्किने रहेको उनले बताए । पछिल्लो साता दिनहुँ एक हजार जनाभन्दा बढी फर्किरहेका छन् । कामका लागि भारत जानेको संख्या भने दुई सयजति मात्रै छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीले भारतबाट फर्कनेको ऐन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने गरेको छ । स्वास्थ्य कार्यालयले चैत १७ बाट भन्सारमा ऐन्टिजेनबाट परीक्षण सुरु गरेको हो । स्वास्थ्य कार्यालयका प्रमुख ललित धामीले हालसम्म ६ हजार ४ सय ३० जनाको परीक्षण गरिएको बताए । तीमध्ये ३ सय १५ जनामा संक्रमण देखिएको छ । धामीले पछिल्लो समयमा भारतबाट फर्कनेको संख्या बढेकाले सबैको स्वास्थ्य जाँच गर्न नसकिने भएकाले समूहमा एक जनाको र लक्षण भएकाको मात्रै परीक्षण गर्न लागिएको जानकारी दिए ।

प्रकाशित:
2021/04/12, 7:33