कोरोना संक्रमण बढेपछि शुक्रबारदेखि दिल्लीमा कर्फ्यू लाग्ने

Dilly

नयाँदिल्ली — कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि भारतको राजधानी नयाँदिल्लीमा सप्ताहन्तमा कर्फ्यु आदेश जारी गरिएको छ । जसअनुसार दिल्लीमा आगामी शुक्रबार राति दश बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने छ ।

बिहीबार पत्रकार सम्मलेनमार्फत दिल्लीमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै मुख्यमन्त्री अरविन्द केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार भर्चुअल पत्रकार सम्मेलनमार्फत् त्यसको जानकारी गराएका हुन् ।

कर्फ्यु अवधिभित्र अत्यावश्यक सेवा र अन्तरराज्य सार्वजनिक यातायात भने चालू रहनेछ । तर, सबै किसिमका बजार, मलहरु बन्द रहनेछन् । तर, सिनेमा हल भने ३० प्रतिशत क्षमतामा चल्न दिइने भएको छ । निजी कार्यालयहरुलाई घरबाटै काम गराउन व्यवस्था मिलाउन निर्देशन दिइने पनि केजरीवालले भनेका छन् । मुख्यमन्त्री केजरीवाल र उच्च अधिकारीबीच बिहीबार बिहान भएको छलफल यस्तो निर्णय लिइएको हो ।

दिल्लीमा केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । बुधबार मात्र १७ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु भएयताकै उच्च दर हो । मुख्यमन्त्री केजरीवालले संक्रमणको साङ्लो तोड्न कर्फ्यु लगाउने निर्णय गरिएको बताएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । बुधबार मात्र १०० जनाको मृत्यु भएको थियो ।

विगत केही दिनयता भारतमा कोरोना संक्रमणले रेकर्ड बनाइरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार २ लाख ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । संक्रमणबाट १ हजार ३८ जनाको ज्यान गएको थियो । त्यस्तै नेपालसँग सीमा जोडिएका राज्यहरू उत्तर प्रदेश, बिहार, उत्तराखण्ड र पश्चिम बंगालमा पनि पछिल्लो समय संक्रमण तीव्र भइरहेको छ ।

प्रकाशित:
2021/04/15, 4:09