कैलालीका सांसद झपट रावलको घरमा ढुंगा प्रहार,सांसद रावलले गराए गृहमन्त्रीको ध्यानाकर्षण

jhapat
सुदूर प्रेस संवाददाता

धनगढी– सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति पटकपटक ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई बोलाउँदा नआएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसद रावलले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई घटनाबारे जानकारी गराएका हुन् ।


'म बसेको शान्तिनगरस्थित घरमा बुधबार राति ५-१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा उठेन,' रावलले गृहमन्त्रीलाई घटनाबारे समिति बैठकमा जानकारी गराउँदै भने ।

कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गर्दा मात्रै उठेको उनले बताए । घटनाको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलको भनाइ थियो ।

कसलाई लक्षित गरेर राति ढुंगा ढोकामा प्रहर भएको हो भन्नेबारे छानबिन गर्न रावलले गृहका अधिकारीलाई आग्रह गरेका छन् । उनले प्रहरीले राति फोन नउठाउने विषयलाई पनि गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् । घटना राति १२ बजेतिर भएको रावलले बताए ।


'फोन गर्दा नउठ्ने र नलाग्ने अनि दुर्घटना भइसकेपछि प्रहरी आउनुको अर्थ हुँदैन, त्यसैले यसबारे पनि गृहमन्त्री र गृहसचिवको ध्यानाकर्षण गराउन चाहन्छु,' रावलले भने । रावल राज्यव्यवस्था तथा सुशासन समिति सदस्य पनि हुन् । उनी एमालेको आन्तरिक विवादमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा लागेका छन् ।

प्रकाशित:
2021/04/15, 4:24