कञ्चनपुरमा विस्फोटक पदार्थ डिस्पोज गर्दा सेनाका जमदार घाइते

bisfot
प्रतिकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

कञ्चनपुर — विस्फोटक पदार्थ डिस्पोज गराउँदा नेपाली सेनाका एक प्राविधिक घाइते भएका छन् । आइतबार साँझ जिल्ला प्रहरी कार्यालय र मातहत रहेको विस्फोटक पदार्थ डिस्पोज गराउन खोज्दा काली रक्षा गण कैलालीका प्राविधिक जमदार शिवलाल तिवारी घाइते भएका हुन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार भीमदत्त नगरपालिका–३ मा रहेको नेपाली सेनाको फायरिङ रेञ्जमा विस्फोटक पदार्थहरु डिस्पोज गराउन खोज्दा एउटा डेटोनेटर तिवारीको हातमै विस्फोट भएको हो । उनका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका निकायमा रहेको पुरानो विस्फोटक पदार्थ डिस्पोज गर्ने निर्णयपछि नेपाली सेनाको प्राविधिक टोली आएको थियो ।

‘घाइतेको महाकाली अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी महतोले भने, ‘डेटोनेटर हातमा समातेका बेला विस्फोट भएको रहेछ, दुवै हात र शरीरमा चोट लागेको छ, अवस्था गम्भीर छ ।’

नेपाली सेनाको भगतपुरस्थित २५ नं. बाहिनीका बाहिनीपति कृष्ण जिसीका अनुसार कैलालीमा रहेको कालीरक्षा गणबाट आएको टोलीले विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा दुर्घटना भएको हो ।

प्रकाशित:
2021/06/21, 6:23