दिल्लीमा डाक्टरको सिफारिस बिना एस्पिरिन लगायत तीन किसिमका औषधि बिक्री गर्न प्रतिबन्ध

सुदूर प्रेस संवाददाता

एजेन्सी– भारतको दिल्ली सरकारले डाक्टरको सिफारिस बिना एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेक नामको औषधि बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।

डेङ्गीको संक्रमण बढेपछि मानिसको रगतमा प्लेटलेट्स नष्ट गर्ने र डेङ्गीको प्रकोपकाबीच हानिकारक हुन सक्ने भन्दै दिल्ली सरकारले तीन प्रकारका औषधिको सिफारिस बिना बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

दिल्ली सरकारले डेङ्गी रोकथामका लागि जारी गरेको सुझावमा डेङ्गीको सम्भावित प्रकोपको मौसममा एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेक जस्ता औषधिहरूको प्रयोग ‘दर्ता भएका डाक्टरहरूको प्रेस्क्रिप्सन’ बिना बिक्री गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ ।

सरकारले डाक्टरको सिफारिस बिना यी औषधिहरु बिक्री गरेको पाइएमा कडा कारबाही गर्ने बताएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीमा पानीको बहाव बढेसँगै विगत दुई हप्तादेखि विभिन्न क्षेत्रमा भीषण बाढी आएको छ ।

बाढीसँगै डेङ्गी लगायतका संक्रामक रोगको प्रकोप पनि फैलिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

प्रकोप फैलिएपछि दिल्लीका स्वास्थ्यमन्त्री सौरभ भारद्वाजको अध्यक्षतामा सङ्क्रमणजन्य रोग नियन्त्रणका लागि तयारीबारे उच्चस्तरीय बैठक बसेर विभिन्न निर्णयहरु गरेको हो । 

प्रकाशित:
2023/07/23, 7:36