पाकिस्तानमा एक र्‍यालीका क्रममा विष्फोट हुँदा ४४ जनाको मृत्यु

सुदूर प्रेस संवाददाता

पाकिस्तान–पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा एक र्‍यालीका क्रममा विष्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ ।

आइतबार जमित उमेला ए एस्लाम फज्ल पार्टीले आयोजना गरेको र्‍यालीमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । उक्त विष्फोटमा एक सय जनाभन्दा बढी घाइते भएका छन् ।

आइतबार विष्फोटमा परी ३५ जनाको मृत्यु भएको थियो भने मृतकको संख्या बढेर ४४ पुगेको प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विष्फोटमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

उक्त विष्फोटको पछाडि कसको हात रहेको थियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनास्थललाई घेरा हाली अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित:
2023/07/31, 9:11