दोधारा चाँदनीमा चाँडै नै सुख्खा बन्दरगाह बन्छ : भारतीय राजदूत

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको काम चाँडै अगाडि बढ्ने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । सोमबार सुख्खा बन्दरगाह निर्माणस्थलमा पगेर राजदूत श्रीवास्तवले विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम अन्तिम अवस्थामा पुगेकाले छिट्टै निर्माण कार्य अगाडि बढ्ने बताएका हुन् । ‘दुई देशबीच डीपीआरमा सहमतिपश्चात निर्माण कार्य तत्कालै सुरु हुनेछ,’ श्रीवास्तवले भने, ‘सुख्खा बन्दरगाहले नेपाल र भारतबीचको व्यापारसँगै आर्थिक सम्बन्ध समेत बढाउनेछ ।’ उनले डीपीआर निर्माणको जिम्मा राइट कन्सल्ट्यान्टले पाएको र एक चरणको डीपीआर परिवर्तन गरेर अर्को चरणको निर्माण कार्य भइरहेको बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला दोधारा चाँदनीमा ३ वर्षभित्र सुख्खा बन्दरगाह निर्माणका लागि सहमति भएको थियो । सहमतिअनुसार सुख्खा बन्दरगाहको निर्माण भारतले र्नै गर्नेछ । त्यहीअनुसार भारतीय पक्षबाट अहिले डीपीआर निर्माणको काम भइरहेको हो ।

‘भारत सरकारको अनुदानमा यसअघि पनि चार वटा एकीकृत जाँच केन्द्र निर्माण भइसकेका छन्,’ श्रीवास्तवले भने, ‘दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार यहाँ पनि चाँडै एकिकृत जाँच चौकी र सुख्खा बन्दरगाहको काम गरिनेछ ।’

राइट कन्सल्ट्यान्टको टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधि तथा कर्मचारीसँग छलफल गरिसकेको राजदूत श्रीवास्तवले बताए । योजनामा स्थानीयलाई कसरी फाइदा पुग्छ भन्ने विषयमा पनि छलफल भएको श्रीवास्तवले बताए ।  

राजदूत श्रीवास्तवले विकास निर्माणको योजना होस् वा आपसी सम्बन्धका विषयमा सहकार्य गर्न भारत तयार रहेको बताए । उनले एकीकृत जाँच चौकी निर्माणले दुई मुलुकबीचको सम्बन्ध अझ उचाइमा पुग्ने बताए । खासगरी सुदूरपश्चिम र भारतको उत्तराखण्ड तथा उत्तर प्रदेशसॅंग व्यापार व्यवसाय बढने अपेक्षा गरिएको उनले बताए । व्यापारिकसँगै स्थानीय स्तरको सम्बन्ध पनि सुदृढ हुने उनले बताए ।

त्यसअघि राजदूत श्रीवास्तवले भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवनको उद्घाटन गरेका थिए । उनले बेलडाँडी र भीमदत्त नगरपालिकामा निर्माण भएको विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

प्रकाशित:
2023/09/19, 7:35