कोरोनाले आहाल भारत : एकै दिन थपिए झन्डै एक लाख कोरोना सङ्क्रमित

सङ्क्रमित हुनेको सङ्ख्या ४४ लाख पार
India
सुदूर प्रेस संवाददाता

भारत – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का झन्डै एक लाख सङ्क्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एकै दिन सबैभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका हुन् ।

बुधवार भारतमा ११ लाख २९ हजार ७५६ जनाको नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । यससँगै भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४४ लाख ६५ हजार ८६४ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या पनि ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १ सय ७२ जनाको मृत्यु भएको हो । 
सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म नौ लाख ६७ हजारभन्दा सङ्क्रमित भेटिएका छन् भने २७ हजार ७८७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै आन्ध्र प्रदेशमा पाँच लाख २७ हजारभन्दा धेरै कोरोना सङ्क्रमित फेला परिसकेका छन् भने चार हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७८४ सङ्क्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अहिलेसम्म नौ लाख १९ हजार १८ सङ्क्रमित निको हुन बाँकी छन् ।

– स्रोत ः एएनआई

प्रकाशित:
2020/09/10, 3:53