पत्रकार महासंघको मिसन टोली छलफलमा ब्यस्त

mison toli

धनगढी–कैलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृहमा कार्यरत पत्रकार र कर्मचारी माथि भएको आक्रमण बारे अध्ययन गर्न धनगढी पुगेको नेपाल पत्रकार महासंघको टोलीले आज पनि सरोकारवाला निकायसँग छलफल जारी राखेको छ । 
आईतबारदेखि नै घटना सम्बन्धी अध्ययन थालेको महासंघको टोलीले आज स्थानीय प्रशासन, प्रहरी, मुख्यमन्त्री लगायतसँग छलफल गरीरहेको हो । 

टोलीले  शुक्रबार मृत अवस्थामा फेला परेकी पत्रकार निर्मला पहराईका परिवारजनसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानून मन्त्रीसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ । 
महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली आईतबार धनगढी पुगेको थियो। हिजोदेखि नै दिनेश सञ्चार गृहसँगै कैलालीमा पत्रकारमाथि भएका आक्रमणका घटनाका विषय अध्ययन थालेको थियो।

मिसन टोलीमा महासचिव विष्टसहित सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य मिन बम र उत्तर विष्ट, प्रदेश अध्यक्ष अर्जुन शाह, कैलाली अध्यक्ष जगत साउँद लगायत सहभागी छन्।

गत भदौँ २६ गते दिनेश सञ्चार गृहमा प्रवेश गरेको एक समूहले सहसम्पादक जनक विष्टमाथि कुटपिट गरेको थियो भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिहमाथि दुव्र्यवहार गरेको थियो।

प्रकाशित:
2020/09/21, 12:47