युभेन्टसको मैदानमा बार्सिलोना विजयी

mesi

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह जी को खेलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको छ । युभेन्टसको घरेलु मैदानमा बार्सिलोना २-० को जित दर्ता गर्न सफल भयो ।

खेलको १४ औं मिनेटमा नै बार्सिलोनाले ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको थियो । कप्तान लिओनेल मेस्सीले दिएको लामो पासलाई नियन्त्रणमा लिँदै दुई डिफेन्डरको बीचबाट डेम्बेलेले गरेको प्राहार गोलरक्षक वोजचिएक सेचेज्नीले बचाउन सकेनन् ।

युभेन्टसका फरवार्ड अल्भारो मोराटाले दुई पटक गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै गोललाई मान्यता दिएनन् । ६९ औं मिनेटमा अद्रिएन राबीओटले पाएको अवसर सदुपयोग गर्न नसक्दा युभेन्टस खेलमा फर्कनबाट चुक्यो । लगत्तै एन्टोइन ग्रिजमनको प्रहार पोस्टभन्दा थोरैले बाहिरिंदा बार्साले अग्रता दोब्बर पार्न सकेन ।

खेलको ८५ औं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भयो । युभेन्टसका डिफेन्डर मरिह डेमीरालले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।

खेलको अन्तिम मिनेटमा बार्सिलोनाले पेनाल्टी प्राप्त गर्यो । फेडेरिको बर्नाडेस्कीले अन्सु फातीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा कप्तान लिओनेल मेस्सीले गोल गर्दै जित सुनिश्चित गरे । इन्ज्युरी समयमा फातीले सुवर्ण अवसर सिर्जना गरेपनि आफैं प्रहार नगरी पास दिन खोज्दा गोल गर्नबाट चुके ।

यस जितसँगै बार्सिलोनाको २ खेलमा ६ अंक भएको छ । युभेन्टस भने २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ । समान १-१ अंक जोडेको किएभ र फेरेन्कभरोस भने तेस्रो र चौथो स्थानमा छन् । किएभ र फेरेन्कभरोसको खेल २-२ को बराबरीमा टुंगिएको हो ।

प्रकाशित:
2020/10/29, 6:50