सुदूरपश्चिममा करिब ८५ प्रतिशत कोरोना सङ्क्रमित बिरामी निको भए 

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा करिब ८५ प्रतिशत कोरोना सङ्क्रमित बिरामी निको भएका छन् । प्रदेशमा हाल सम्म १ लाख ९ हजार ६ सय १३ जनाको नमुना परीक्षण गर्दा १० हजार २५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । ती मध्ये ८ हजार ४ सय ७९ जना आर्थात करिब ८५ प्रतिशत कोरोना मुक्त भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । प्रदेशमा अब १ हजार ५ सय २० जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबै भन्दा बढी ६ सय ८८ जना कैलालीमा छन् । त्यसपछि १ सय ९९ जना दार्चुलामा,१ सय ९१ जना बझाङमा,१ सय १२ जना डोटीमा १ सय ८ जना कञ्चनपुरमा,८६ जना अछाम,४० जना बैतडी र १० जना बाजुरामा छन् । २० जना अन्य जिल्लामा रहेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सक्रिय सङ्क्रमित मध्ये ८४ जना अस्पतालमा उपचाररत छन् भने अरू घरमै बसेका छन् । १५ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सम्म कोरोना बाट २६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । 

 यसरी बच्न सकिन्छ कोरोनाबाटः–

सबैले मास्कको प्रयोग अनिवार्य गरौँ । 

कुनै पनि वस्तु छोएपछि कम्तीमा २० सेकेन्डसम्म साबुन पानीले मिचिमिची हात धुने गरौँ । 

एक आपसमा २ मिटर दुरी कायम गरौँ  ।

भिडभाड नगरौँ वा भिडभाडमा नजाऊ  ।

सङ्क्रमित क्षेत्रबाट आएकाहरू लाई अनिवार्य रूपमा क्वारेनटाइनमा राखौँ । 

सङ्क्रमित व्यक्तिलाई आइसोलेसनमा राखी जथाभाबी घुमफिर र अरूको सम्पर्कमा जान नदिऊँ । 

चाडपर्व मनाउँदा सामाजिक दुरी र मास्कको अनिवार्य प्रयोग गरौँ । 

 

 

प्रकाशित:
2020/11/09, 7:38