प्रदेश १ का अर्थमन्त्री बर्खास्त

barkhast
सुदूर प्रेस संवाददाता

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई पदमुक्त गरेका छन् ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतका अनुसार शनिबार साँझ मुख्य मन्त्री राईले मन्त्री आङबोलाई पदबाट हटाएका हुन्।

आङबोको अगुवाइमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन हस्ताक्षर संकलन भइरहेको थियो । अविश्वास प्रस्ताव आइतबार दर्ता हुन सक्ने नेकपाको दाहाल–नेपाल समूहका एक नेताले बताएका छन् । आङबो पूर्व माओवादी नेता हुन् । हाल उनी दाहाल–नेपाल समूहमा छन् ।

दाहाल–नेपाल पक्षका सांसदहरुले दुई दिनयता अविश्वास प्रस्ताव दर्ता गर्नेबारे पटक पटक छलफल गर्दै आएका छन् ।

नेपाल पक्षबाट प्रदेशसभा सदस्य भीम आचार्यको नाम नयाँ मुख्यमन्त्रीका लागि चर्चामा छन् । दाहाल पक्षबाट मन्त्री आङबोकै नाम पनि चर्चामा छ ।


प्रदेश १ को प्रदेशसभामा ९३ सदस्य छन् । नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ सदस्य छन् ।

नेकपाका ६७ मध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ प्रदेशसभा सदस्य छन् ।

प्रदेश १ को संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री केपी ओली पक्षधर मुख्यमन्त्री राई २६ मत प्राप्त गरी विजय भएका थिए । उनका प्रतिस्पर्धी नेपाल पक्षक भीम आचार्यले २४ मत प्राप्त गरेका थिए। १ मत बदर भएको थियो ।

प्रकाशित:
2020/12/26, 8:01