सवारी ज्यान मुद्दा मिलाउन इन्स्पेक्टरले लिए १५ हजार घूस

ghus
प्रतिकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

काठमाडौँ–सवारी ज्यान मुद्दाको केस मिलाइदिने भन्दै १५ हजार रुपैयाँ घूस लिएको कसुरमा महानगरीय प्रहरी वृत्त थानकोटका निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा परिसर तानिएका छन् । उनलाई परिसरमा राखेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयका एआइजी हरिबहादुर पालले जानकारी दिए । 


३ वर्षअघि मात्रै प्रहरी सेवा प्रवेश गरेका शर्मा थानकोट वृत्तको मुद्दा शाखामा कार्यरत थिए । मंसिर २६ गते साँझ चन्द्रागिरि नगरपालिका–१५, ढुंगे अड्डामा प्रदेश २–०३–००१–ख १४२० नम्बरको गाडीको ठक्करबाट ३ जनाको ज्यान गएको थियो भने ६ वटा अन्य सवारीमा क्षति पुगेको थियो । दुर्घटना गराउने बसका चालक मकवानपुर र भएका रामबहादुर रखल मगरलाई छुटाउन बस समितिले घूस दिएको पनि खुलेको छ । दुर्घटना भएको लामो समयसम्म पनि मुद्दा अल्झाएर घूस मोलमोलाई गरेको उजुरी परेपछि परिसर र महानगरीय प्रहरी कार्यालयले उनीमाथी निगरानी बढाएको थियो । त्यसपछि अनुसन्धान गर्दा १५ हजार घूस लिएको पाइएपछि शर्मालाई जिम्म्वोरी मूक्त गरेर थप अनुसन्धान अघि बढाइएको एआइजी पालले बताए ।

‘सवारी ज्यान मुद्दाको केसमा घूस लिएको आरोपमा थानकोट वृत्तको मुद्दा शाखामा कार्यरत इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालिएको छ,’ पालले कान्तिपुरसँग भने, ‘पदीय आचरण, मर्यादा विपरित र गैरव्यवसायिक चरित्र देखाउने जुनसुकै ओहोदाका प्रहरी भए पनि छाड्दैनौं, केही व्यक्तिका कारण सिंगो संगठन बदनाम हुँदैन, गल्ती गर्ने कारबाहीको भागिदार हुनै पर्छ ।’ पछिल्लो १ साताको अवधिमा २ जना सई र १ जना जवानलाई निलम्बन र २ महिला प्रहरीलाई आचरणविपरीत काम गरेको कसुरमा नसियत दिइएको एआइजी पालले बताए ।

प्रकाशित:
2021/01/04, 7:13