पीएम कपमा वाग्मतीको लगातार दोस्रो जित, सुदूरपश्चिम १८० रनले पराजित

cricket
सुदूर प्रेस संवाददाता

काठमाण्डाै – चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमतीले सुदूरपश्चिमलाई १ सय ८० रनको फराकिलो अन्तरको पराजित गरेको छ ।


जितका लागि ३ सय रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा १ सय १९ रनमा अल आउट भयो । सुदूरपश्चिमका शीर्ष पाँच ब्याट्सम्यानले खाता खोल्न सकेनन् । सुदूरपश्चिमका युवा अलराउन्डर नारायण जोशी २९ बलमा १ चौका र ५ छक्का सहित सर्वाधिक ४४ रनमा अविजित रहे ।

सुदूरपश्चिमको सुरुवात सम्झन लायक रहेन । पहिलो ओभरमै रामनरेश गिरीले तीन ब्याट्सम्यानलाई शून्यमा आउट गरेपछि बागमती खेलमा हाबी बनेको थियो । दोस्रो बलमा ओपनर गजेन्द्र बोहरा एलबिडब्लू आउट हुन पुगे । तेस्रो बलमा अरुण ऐरी इनसाइड एज लागेर विकेटकिपर आकाश थापाबाट शून्यमै क्याच आउट हुन पुगे ।

अन्तिम बलमा सन्जु दमाई एज लागेर विकेटकिपरबाटै समातिन पुगेपछि पहिलो ओभरमा १–३ को अवस्थामा पुगेको थियो । दोस्रो ओभरमा तेस्रो बलमा दीपेश श्रेष्ठको तेस्रो बलमा खडक बहादुर बोहरा ईशान पान्डेबाट शून्यमै क्याच आउट गराए । सुरुवाती चार ब्याट्सम्यानलेनै खाता खोल्न सकेनन् ।


तेस्रो ओभरको अन्तिम बलमा रामनरेशले कप्तान सन्तोष भट्टलाई २ रनमा एलबिडब्लू आउट गरेपछि सुदूरपश्चिम ३ ओभरमा ४ रन जोड्न ५ विकेट गुमाउँदै दयनिय अवस्थामा पुगेको थियो ।
छैटौं विकेटका लागि युवा ब्याट्सम्यान अर्जुन साउद र किरण ठगुन्नाले ५९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए ।

आक्रामक रुपमा प्रस्तुत भएका अर्जुन १५ औं ओभरमा आउट हुन पुगेपछि झिनो आशा टाढिएको थियो । अर्जुन नन्दन यादवको पहिलो बलमा कट एण्ड बोल्ड आउट भएका थिए । २८ बल खेलेका अर्जुनले ३ छक्का र १ चौका सहित ३१ रनमा आउट भए । शेर मल्लले खाता खोल्न सकेनन् ।

स्पिनर तिलकराज भण्डारीको १६ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका किरण लङअनमा ईशान पान्डेबाट २४ रनमा समातिन पुगे । उनले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
तीव्र गतिका बलर रामनरेश गिरीले ५ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । नन्दन यादवले २ विकेट लिए । बिविन आचार्य, तिलकराज भण्डारी र दीपेश श्रेष्ठले १–१ विकेट लिए ।


त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९९ रन बनायो । उपकप्तान तथा मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटाले ९४ बलमा १० चौका र २ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए । कप्तान सन्तोष भट्टको बलमा पृथु एज लागेर आउट विकेटकिपर सन्जु दमाईबाट क्याच आउट हुन पुगेका थिए ।

आदिल ८६ बलमा १० चौका सहित ६३ रन जोड्दै आउट भए थिए । तीव्र गतिका बलर भोजराज भट्टको बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा गजेन्द्र बोहराबाट क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि पृथु र आदिलले १ सय ९ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

ओपनर आकाश थापा दोस्रो ओभरमै १३ रनमा क्याच आउट हुन पुगेका थिए । तीव्र गतिका बलर भोजराज भट्टको बलमा ठूलो सट खेलेका आकाश थर्डम्यानमा शेर मल्लबाट उत्कृष्ट क्याच आउट हुँदै पेभिलिएन फर्केका थिए । आक्रामक ब्याटिङ गरेका उनले ८ बलमा ३ चौका प्रहार गरे ।


दशौं ओभरको चौथो बलमा स्पिनर विनोद लामाले पारस खड्कालाई २० रनमा बोल्ड आउट गरेका थिए । पारसले १९ बलमा ३ चौका प्रहार गरे । तल्लोक्रममा कप्तान ज्ञानेन्द्र मल्ल २३ बलमा ३ चौका सहित ३२ रनमा आउट भए । ईशान पान्डे १७, विपिन आचार्य ३२ रनमा आउट हुँदा रामनरेश गिरी १० रनमा अविजित रहे ।

नारायन जोशीले १० ओभरमा ६८ रन खर्चेर ३ विकेट लिए । भोजराज भट्टले ८ ओभरमा ६३ रन खर्चेर २ विकेट लिए । सन्तोष भट्टले ९ ओभरमा ५९ रन खर्चेर २ विकेट लिए । विनोद लामाको नाममा १ विकेट रह्यो ।

प्रकाशित:
2021/01/18, 5:01