अछाममा वडाध्यक्षको अवैध मेडिकल सिल

seel
सुदूर प्रेस संवाददाता

अछाम — अछामका एक वडाध्यक्षले अवैध रुपमा संचालन गरेको मेडिकल शनिबार सिल भएको छ ।

साँफेबगर नगरपालिका –१३ का वडाध्यक्ष सागर सिंह बाब्लीले बाब्लाका संचालन गरेको मेडिकलमा नेपालमै दर्ता नभएका औषधि राखेको, म्याद नाघेको औषधि बिक्रीवितरण गरेको र भेटेनरीको औषधि राखेको भन्दै जिल्ला प्रशासन कार्यालय अछामले सिल गरेको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सिनाले बताए । औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगंजले ताला नै लगाएर सिल गर्न प्रशासनलाई पत्र पठाएको थियो ।


‘औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगंजले ताला नै लगाएर बाब्ली मेडिकल हललाई सिल गरिदिनु भन्ने पत्र प्रशासनलाई आएकाले हामीले सिल गरेका हौं’, सहायक प्रजिअ तिमिल्सिनाले भने, ‘अनुगमनका क्रममा भेटेनेरी पढेको व्यक्तिले मेडिकल संचालन गरेको पाइयो । यसअघि पनि औषधि व्यवस्था विभागले अनुगमन गरेर सच्चिने मौका दिएको थियो ।’

औषधि ऐन २०३५ को दफा २० उपदफा ४ बमोजिम अनुगमनसहित कारबाही गरिएको तिमिल्सिनाले बताए । वडाध्यक्ष बाब्ली र उनकी श्रीमतीले नै मेडिकल संचालन गरेका हुन् । १५ दिनसम्म सिल गरेको प्रमाण औषधि व्यवस्था विभागमा पुर्‍याएपछि मात्रै नियमानुसार संचालन गर्न प्रक्रिया अघि बढ्ने छ । सिंह तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रकाशित:
2021/02/22, 9:19
SPA
KN
Priya Gahana Pasal