सरकारले सञ्चालन गरेको सुपथ पसलमै चिनी नपाएको उपभोक्ताको गुनासो

सुदूर प्रेस संवाददाता

धनगढी– सरकारले चाडपर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमै चिनी नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।

चामल, तेल, दाल, गेडागुडी, नुन लगायतका सरसामान सजिलै पाइए पनि चिनी पाउन नसकेको उपभोक्ताको गुनासो छ ।

सरकारले गएको आइतवारदेखि सञ्चालनमा ल्याएको सुपथ पसलमा वितरणका लागि राखेको चिनी दुई दिनमै सकिएपछि अभाव भएको हो । कतिपय सुपथ पसलमा चिनी नै छैन भने भएका ठाउँमा चिनी लिनकै लागि घण्टौँ लाइनमा उभिनुपर्ने बाध्यता छ ।

सुपथ मूल्य पसलमा एक जनालाई बढीमा दुई किलोसम्म चिनी दिने गरिएको छ । अन्त बजारमा किलोको १ सय ३० रुपैयाँदेखि डेढसय रुपैयाँसम्म पर्ने चिनी सुपथ पसलमा ९७ रुपैयाँमा पाइन्छ । तर सरकारले सञ्चालनमा ल्याएका सबै सुपथ पसलमा चिनी नहुँदा उपभोक्ता मारमा परेका छन् । बजारमा पनि चिनीको अभाव छ ।

सरकारले चाडपर्वको बेला अरु अत्यावश्यकीय खाद्यान्नसँगै चिनी पनि सहज रुपमा उपलब्ध गराउने दाबी गरे पनि त्यसो हुन सकेको छैन । अभाव, महँगी र कालोबजारी रोक्न सरकार असफल भएको भन्दै उपभोक्ता आक्रोशित छन् । 

प्रकाशित:
2023/10/14, 8:31