कञ्चनपुर–कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीमा छाउपडी गोठमा सुत्न लागेकी एक महिलाको सर्प दंशबाट मृत्यु भएको छ । करेत जातको विषालु सर्पले टोकेपछि २८ वर्षीया कमला दमाईको अकालमै मृत्यु भएको हो । स्थानीय युवा सुचित्र सिंहका अनुसार महिनावारी भएको बेला कमला छाउपडीको गलत अभ्यास स्वरूप छिमेकीको घरछेउमा रहेको छाउगोठमा सुत्न गएकी थिइन् । त्यहाँ सुत्न लागेको बेलामा सर्पले गालामा टोकेपछि तत्कालै उनलाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । तर, उपचारकै क्रममा शनिबार राति करिब ८ बजेको समयमा उनको मृत्यु भएको जनाइएको छ । कमला दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् । परिवारको पक्की घर भए तापनि रुढीवादी परम्पराका कारण उनी छिमेकीको घरछेउमा बनाइएको छाउ गोठमा बस्न बाध्य भएकी थिइन् ।
