धनगढी–सुदूरपश्चिम प्रदेशमा व्यावसायिक फुटबल खेलको विकासमा अग्रसर कैलालीका सुरेश हमालको निधन भएको छ । मृगौलाको समस्याबाट पीडित हमालको ४८ वर्षको उमेरमा निधन भएको हो । भारतको बरेलीमा उपचारको क्रममा हमालको बुधबार निधन भएको सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका देवेन जोशीले बताए । जोशीकाअनुसार मधुमेह समस्यासँग जुझ्दै व्यावसायिक फुटबल खेलको विकासमा क्रियाशील हमाल पछिल्लो केही वर्षदेखि मृगौलाको समस्याबाट पनि ग्रसित थिए ।
दुवै मृगौलाले काम गर्न छोडेपछि मृगौला ट्रान्सप्लान्टको तयारी भइरहेको बेला हमालको निधन भएको हो । हमालकी श्रीमतीले उनलाई मृगौला प्रत्यारोपणका लागि दिने तयारी गरेकी थिइन् ।
हमालको निधनले सुदूरपश्चिम प्रदेशको खेल जगत स्तब्ध भएको छ। सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष हमालको अथक प्रयासमा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ठुलो धनराशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता हुँदै आएको थियो ।
कैलालीको भजनी नगरपालिका–५ मा जन्मिएका हमाल धनगढीमा बस्दै आएका थिए। उनको आज अन्तिम संस्कार गरीने छ ।