डोकेबजारमा कार्यरत चार जना सशस्त्रलाई कोरोना पुष्टि

सुदूर प्रेस संवाददाता

धनगढी–नेपाल भारत सीमा नाका डोकेबजारमा कार्यरत चार जना सशस्त्र प्रहरीमा शनिबार कोरोनाको संक्रमण भएको छ। बोर्डर आउट पोष्ट डोके बजारमा तैनाथ सशस्त्र प्रहरी हवल्दारसहित चार जनामा कोरोनको संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा सशस्त्र प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ। कोरोना संक्रमण भएका सशस्त्र प्रहरीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। चारै जनालाई सेती अस्पतालको आइसोलेसनमा राखिएको छ। कोरोना संक्रमण भएका सशस्त्र प्रहरी जवान नेपाल भारततर्फ जाने यात्रुहरुको व्यवस्थापनमा खटिएका थिए। यसअघि पश्चिमी सीमा नाका गड्डाचौकीमा कार्यरत १५ जना सशस्त्र प्रहरीमा कोरोनाको संक्रमण भएको थियो। संक्रमण भएका सबै सशस्त्र प्रहरीले कोरोना जितेर कार्यमा फर्केका छन्। शनिबार चार जना सशस्त्र प्रहरीसँगै कञ्चनपुरका १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।  

प्रकाशित:
2020/10/11, 2:28