शरीरमा दाद किन आउछ र कसरी निको गर्ने ?

Daad

डा. कमलराज धिताल
दाद आउने कारण

दाद एक किसिमको किटाणु (फंगस) को संक्रमणले हुने गर्छ । दाद आएका मानिसले लगाएको पहिरन लगाएमा, रुमाल तथा साबुनको प्रयोग गरेमा पनि यो रोग सर्नेगर्छ । रोग प्रतिरोधक क्षमता कम भएका, दीर्घ रोग लागेका तथा पसिना धेरै आउने मानिसलाई पनि दाद आउने संभावना रहन्छ ।

दादका प्रकार

टिनिया क्यापाइटिस टाउकोमा हुने फंगसको संक्रमण टिनिया क्यापाइटिस हो । यस्तो हुँदा टाउकोको केश झर्ने, पाकेको जस्तो घाउ आउने गर्छ । यो ठूला मानिसको तुलनामा बालबालिकामा बढी मात्रामा आउँछ ।

टिनिया फेसिआइ यस्तो किसिमको दाद अनुहारमा आउने गर्छ । यो गोलो आकारको र अधिक चिलाउने किसिमको हुन्छ ।

टिनिया कर्पोरिस यो सबभन्दा बढी मात्रामा देखिने दाद हो । यो शरीर, हात तथा तिघ्रामा आउँछ । यो पनि गोलो आकारको र चिलाउने किसिमको हुन्छ ।

टिनिया क्रुरिस यो दाद काखी तथा काँपमा आउने गर्छ । गोलो आकारको र चिलाउने यो दाद पसिना धेरै जम्मा हुने भागमा आउँछ ।

टिनिया पेडिस यो दाद खुट्टामा आउँछ । गोलो आकारको हुने यो दाद अधिक चिलाउँछ । खुट्टामा एलर्जी जस्तो कत्ला जस्ता घाउ वा पानी फोका जस्ता घाउ पनि देखिन्छन् ।

ओनाइकोमाइकोसिस यो नङमा आउने गर्छ । यो अवस्थामा नङ बाक्लो पहेंलो हुने तथा सजिलै टुक्रने गर्छ ।

उपचार

दादको उपचार रोगको अवस्था, दाद आएको ठाउँ, उमेर र अन्य कुनै रोग लागेको अवस्था अनुसार फरक हुन्छ ।

यसमा लगाउने मल्हम तथा खाने औषधी हुन्छन् । मल्हम दिनमा दुईपटक बिहान बेलुकी ४ देखि ६ हप्ता लगाउनुपर्ने हुन्छ । यसैगरी खाने औषधी दिनमा २ पटक २ देखि ४ हप्तासम्म खानुपर्छ । खाने तथा लगाउने औषधी चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।

बच्नका लागि

– गर्मी मौसममा संभव भएसम्म प्रत्येक दिन दुई पटक नुहाउनु पर्छ । नुहाउनका लागि साबुन भन्दा सावर जेल प्रयोग गर्नु उपयुक्त हुन्छ ।

– नुहाएपछि शरीर सुख्खा हुने गरि पुछ्नुपर्छ । काखी तथा काँछमा पाउडरको प्रयोग गर्नुपर्छ ।

– भित्री पहिरन, मोजा हरेक दिन परिवर्तन गर्नु पर्छ । भित्री तथा बाहिरी पहिरन भिजेको छ भने लगाउनु हुँदैन । राम्ररी सुकेका पहिरन मात्र लगाउनुपर्छ । अरुका पहिरन कदापि लगाउनु हुँदैन ।

– नङ काट्दा कुनै एउटा औंलामा दाद आएको छ भने त्यो नङ काटेपछि नेलकटर स्पिरिटले सफा गरेर मात्र अर्को नङ काट्नुपर्छ ।

– बजारमा पाइने स्टेरोइडयुक्त औषधी चिकित्सकको सल्लाह विना खाने तथा लगाउने गर्नुहुँदैन ।

– चिकित्सकले दिएको औषधी पूरै डोजको सेवन गर्ने तथा लगाउने गर्नुपर्छ । निको भयो भनेर बीचमा छोड्नु हुँदैन ।

– खानाले फंगस वृद्धिमा फरक नपार्ने हुनाले दाद आएका मानिसले खाना बार्नु पर्दैन । तर पनि स्वस्थ र सन्तुलित खाना भने खानुपर्छ ।

 



 

प्रकाशित:
2020/10/12, 11:51